मनोरञ्जन विचार

म बन्द कोठा भित्र थुनिएको छु

प्रमोद खरेल
काठमाडौं, भदौ १० ।
म बन्द कोठा भित्र थुनिएको छु
डर र त्रासले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु ।

जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ
मेटाउन खोज्दैछ शक्तिशाली खेलले
बगाउन खोज्दैछ महामारीको भेलले
घॉटी घॉटी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु ।

अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु ।

पुर्खाको इतिहास किताबमा सिमित राखेर
पराधिन छु त्यसै पनि
कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहॉ ।

कसैका आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहॉ
देश र जनताको नामको पर्चा छर्छन् यहॉ
दुनो सोझ्याउनु त छ सबैलाइ ।

भ्रस्टचार र भागवण्डाले पेट भर्छन् यहॉ
जीन्दगी बन्दगी राखेर सास फेर्नेहरु
सिटामोलको अभावले मर्छन यहॉ ।

म बन्द परिवेश भित्र थुनिएको छु
डर र त्रासले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु ।

अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु ।