खेलकुद

सन्दीप आवद्ध टीम जमैका फेरि पराजित

काठमाडौं, भदौ २२ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह फेरि पराजित भएको छ ।

समुहचरणको अन्तिम खेलमा आईतबार सेन्ट लुसीया जोउक्सबिरुद्ध उनको टोली ११ रनले पराजित भएको छ । लुसीयाले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको जमैकले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

ग्लेन फिलिप्सले ४९ तथा जेरेमी ब्लाकउड र निकोलस किर्टोनले समान २५ रन बनाएपनि टोलीको जितमा पर्याप्त भएन् । लुसीयाका जाहिर खान र जाभेल्ले ग्लेनले समान ३ तथा केसरिक विलियम्सले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सेन्ट लुसीयाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रनको मध्यम योगफल तयार पारेको थियो । उसको जितमा नाजिबुल्लाह जर्दानले ३५, रोष्टन चेस र राखिम क्रोनवालले समान ३२ रनको योगदान दिए ।

जमैकाका मुजिवउर रहमानले २ तथा कार्लोस ब्रेथवेट, सन्दिप लामिछाने, भेरासामी पर्माउल र फिडेल ईडुवार्डले समान एक विकेट लिए । सन्दिपले आफ्नो स्पेलमा १ मेडन राख्दै २० रन खर्चिएर १ विकेट लिएका हुन् । योसंगै उनले जारी सिजनको लिगमा विकेट संख्या १२ पुर्याएका छन् ।

यी दुबै टोली यसअघि नै लिगको सेमिफाईनलमा प्रबेश गरिसकेका छन् ।