समाचार

मन्त्रिपरिषद् बैठक आज, प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे छलफल हुने

काठमाडौं, भदौ २६ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बिहिबार साझ बस्ने भनिएको बैठक स्थगित भएपछि आज बस्ने भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको शुक्रबार बस्ने बैठकका लागि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएपछि बैठक बिहिबार बस्ने बैठक आजका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक बिहिबार आज साँझ बस्ने तयारी भएको थियो । मन्त्रिपरिषद्को आगामी बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे छलफल हुने जनाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि नै मन्त्रिपरिषद्को बैठकमा छलफल गरिसकेका छन् ।

मन्त्री पुनले हालका लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

मन्त्रिपरिषद्को आज बस्ने बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने तयारीसमेत गरेको जनाइएको छ ।