मोरङ, असोज १३ । मोरङको उर्लाबारी नगरपालिका–७ मा युनिक होटल सञ्चालन गरेर बसेका २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट एक जना ग्राहकको मृत्यु भएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार संखुवासभा घर भई उर्लाबारीमा होटल खोलेर बसेका तामाङले कुटपिट गर्दा ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको हो । भारतको दार्जिलिङ घर भएका सुशील लगभग १० वर्ष अघिदेखि परिवारसहित उर्लाबारी क्षेत्रमै बसोबास गर्दै आएका थिए । उनी सुनचाँदीका गहना बनाउने कालीगढ हुन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका मल्लिक श्रीमती कञ्चनसहित युनिक होटलमा आइतबारराति ११ः३० बजेतिर खाजा खान भनेर पुगेका थिए ।
होटलमा विवाद गर्दै सेवनका लागि मदिरा माग्न थालेपछि होटल सञ्चालकसँग झगडा भएको प्रहरीले जनाएको छ । विवाद बढ्दै गएपछि तामाङले कुटपिट गर्दै धकेलेर बाहिर निकाल्न खोज्दा लडेर मल्लिक बेहोस भएका थिए । टाउकोमा चोट लागेर अवस्था गम्भीर बनेपछि उनलाई तत्काल उपचारका लागि उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । गोदावरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगियो ।
बी एण्ड सीले पनि उपचार सम्भव नहुने जनाउँदै भारतको सिलिगुडी रेफर गरेको प्रहरीले जनाएको छ । मल्लिकको उपचारका क्रममा सोमबारराति सिलिगुडीमै मृत्यु भएको एसपी खड्काले जनाए । उनको शव नेपाल ल्याउन प्रहरीले प्रक्रिया अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिँदै कुटपिटमा संलग्न होटल सञ्चालक तामाङविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिसकेको छ ।

