काठमाडौं, असोज १७ । सनराईजर्स हैदरावादले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दोस्रो जित निकालेको छ । रोमाञ्चक खेलमा गएराती चेन्नई सुपर किंग्सलाई ७ रनले हराउदै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको हो ।
हैदरावादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । रबिन्द्र जडेजाले ५०, कप्तान महेन्द्रसिंह धोनीले अबिजित ४७ र फाफ डुप्लेसीसले २२ रन बनाएपनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । ५ बल खेलेका साम कुरान १५ रनमा नटआउट रहे । हैदरावादका टि नटराजनले २ तथा भुवनेश्वर कुमार र अब्दुर समादले समान एक विकेट लिए । डुप्लेसीस रनआउट भएका थिए ।
यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको हैदरावादले ५ विकेट गुमाएर १ सय ६४ रनको मध्यम योगफल तयार पारेको थियो । उसको जितमा प्रियम गर्गले ५१, अबिशेक शर्माले ३१ र मनिषकुमार पाण्डेले २९ रनको योगदान गरे । कप्तान डेभिड वार्नरले २८ रन जोडे । चेन्नईका दिपक चहारले २ तथा सारदुल ठाकुर र पियुस चावलाले समान एक विकेट लिए ।
आईपीएल क्रिकेटमा आज २ खेल हुदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे रोयल च्यालेन्जर्स बैङलोर र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा राती पौने ८ बजे दिल्ली क्यापिटल्स र कोलकत्ता नाईट राईडर्स प्रतिस्पर्धा गर्नेछन् ।

