विविध

मन्त्री कार्कीद्वारा पालिया सिंचाई आयोजना शिलान्यास, २ बर्ष भित्र बन्ने

मेचीनगर, असोज १७ । झापाको मेचीनगर ७ स्थित पालिया पूर्व सिंचाई आयोजना शिलान्यास भएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आयोजनाको शिलान्यास गर्नु भयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश १ तथा जलश्रोत तथा सिंचाई विकास डिभिजन झापा अन्तर्गत सञ्चालित आयोजनाको आज एक कार्यक्रमका बिच मन्त्री कार्कीले शिलान्यास गर्नु भएको हो ।

आयोजना निर्माणको जिम्मा काठमाण्डौंस्थित देव एण्ड सायर निर्माण कम्पनीले लिएको छ । २ बर्ष भित्रका निर्माण सम्पन्न गर्ने गरी २०७७ असार २९ मा भएको सम्झौता अनुसार २०७९ असार २८ भित्रमा आयोजना सम्पन्न गरी सक्नु पर्नेछ । आयोजना रु ५ करोड ६८ लाख ५८ हजार ६९७ रुपैयामा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले ४०० बिघा जमिनलाई उपयोग गर्न पुग्ने गरी निर्माण हुने आयोजनाले यहाँका किसानले बर्षमा ३ पटक नगदे बालि उब्जाउन सक्ने हुँदा जीवनस्तर माथि उठ्न मद्धत पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।

मन्त्री कार्कीले कोरोनाको प्रकोपका कारण यो बर्ष मन्त्रालयले नयाँ योजना नबनाएको स्मरण गराउँदै थालिएका योजना समयमै सम्पन्न गर्ने र बजेटको कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

प्रदेश सांसद श्रीप्रसाद मैनालीले यहाँका जनतालाई विकास निर्माणको अनुभुति गराउने गरी प्रदेश सरकारले योजना दिएको बताउँदै केही समय अघिबाट निमांण सुरु भएको पालिया पुल र अब सम्पन्न हुने सिंचाई आयोजनाले सो कुराको पुष्टि गरेको बताउनु भयो ।

सांसद मैनालीका अनुसार मेचीनगर ७ स्थित काँकरभिट्टा– सत्तिघट्टा, गोमनसरी जोड्ने सडक खण्ड समेत अबको २ बर्ष भित्रमा कालो पत्र गर्ने कार्यमा प्रदेश सरकार समक्ष ४ करोड सम्मको बजेट छुट्याउन आवश्यक पहल भईरहेको बताउनु भयो ।

अर्का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले जनताको जीवनस्तरसंग जोडिएका यस्ता आयोजना सम्पन्न गर्न प्रदेश सरकारकोतर्फबाट बजेटको कमी हुन नदिन यथोचित पहल गरिने बताउनु भयो ।

संविधान सभा सदस्य रबिन कोइरालाले किसानको मेरुदण्डको रुपमा रहेको सिंचाई आयोजना निर्माणहुनु किसानका लागि ठुलो चाड र उत्सवको रुपमा रहेको बताउनु भयो ।

कार्यक्रममा निर्माण ब्यवसायी गणेश चौहानले तोकिएको अवधि भित्रै आयोजना निर्माण गरि उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला सिंचाई कार्यालय झापाका डिभिजन इन्जिनियर कृष्णप्रसाद राजवंशी, वडा नं ७ का वडा अध्यक्ष चन्दन मेचे, नेपाली कांग्रेस नगर उप–सभापति सुरेन्द्र बुढाथोकी लगायतले आफ्नो धारण राख्नु भयो ।

सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रसाईंको सभापतित्वमा भएको कार्यक्रममा स्वागत समितिका सचिव निर्मलकुमार अधिकारीले राख्नु भएको थियो । अध्यक्ष प्रसाईंले औचित्य माथि प्रकाश पार्नु भएको कार्यक्रमाको सञ्चालन समिति सदस्य पुष्प पौडेलले गर्नु भएको थियो ।