समाचार

मुख्यमन्त्री शाहीविरुद्ध सांसदले राखेको अविश्वास प्रस्ताव फिर्ता गराउन नेकपा अध्यक्ष दाहालको दौडधुप

काठमाडौं, असोज २७ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीकै सांसदले राखेको अविश्वास प्रस्ताव फिर्ता गराउन नेकपा अध्यक्ष पुष्पकमल दाहालले पहल गरेका छन्। पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका शाहीविरुद्ध पूर्वएमाले र माओवादीतर्फकै बहुमत सांसदले मुख्यमन्त्रीबाट फिर्ता गराउन आइतबार पार्टीमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी नेताहरूसँग सोमबार छुट्टाछुट्टै छलफल गरेका हुन्। दाहालले पार्टी एकता कायम गराउन पनि अविश्वास प्रस्ताव फिर्ता लिनुपर्ने आग्रह नेताहरूसँग गरे। वरिष्ठ नेता नेपालसँगको भेटमा दाहालले मुख्यमन्त्री शाहीविरुद्ध एकाएक अविश्वास प्रस्ताव दर्ता हुनुको कारणबारे जिज्ञासा राखेको स्रोतले बतायो।

दाहाल निवास खुमलटारमा भएको उक्त छलफलमा नेपालले अविश्वास प्रस्ताव दर्ताबारे आफूसँग कसैले सल्लाह नगरेको उल्लेख गरेका थिए। मुख्यमन्त्रीको कार्यशैलीगत समस्याको विद्रोहका रुपमा अविश्वास प्रस्ताव दर्ता भएको उनको भनाइ थियो।

छलफलमा युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र निरज आचार्य पनि सहभागी थिए। त्यस क्रममा दाहालले अविश्वास प्रस्ताव फिर्ता गराएर पार्टीको एकतालाई सुदृढ बनाउन नेता नेपालसँग आग्रह गरेका थिए। नेता नेपालले अविश्वास प्रस्ताव फिर्ता गराउन आफूले पहल गर्ने बताएका थिए। ४० सदस्यीय कर्णाली प्रदेशसभामा ३३ जना नेकपाका सांसद छन। नेकपाभित्र पनि पूर्वएमालेका २० र पूर्वमाओवादीका १३ सांसद छन्। पूर्वएमालेभित्र ओली समुहका १२ र नेपाल समूहका ८ सांसद छन।

दाहालले सोमबारै प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीसँग भेट गरी प्रस्ताव फिर्ता गराउन आग्रह गरेका थिए। त्यसअघि दाहालले आफ्नै निवासमा पूर्वमाओवादीका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन र जनार्दन शर्मासँग छलफल गरेका थिए।

त्यस क्रममा पूर्वमाओवादी पक्षका नेताहरूले केन्द्रको धापविना अविश्वास प्रस्ताव दर्ता हुन नसक्ने भन्दै दाहाललाई पहलकदमी लिन सुझाव दिएका थिए। त्यसपछि दाहाल प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए। दाहालले त्यहाँ पार्टी एकता जोगाउन प्रस्ताव फिर्ता लिन निर्देशन जारी गर्न प्रधानमन्त्री ओलीसंग आग्रह गरेका थिए।

मुख्यमन्त्री शाहीलाई कमीकमजोरी सुधार्न लगाउन सकिने भन्दै दाहालले तर तत्काललाई भने अविश्वास प्रस्ताव फिर्ता गराउन ओलीसँग आग्रह गरेको स्रोतले बतायो। प्रधानमन्त्री ओलीले प्रदेशमा सरकार र पार्टीबीचको असमझदारी र द्वन्द्वका कारण मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै त्यसबारे आफुले बुझेर अघि बढने जवाफ दिएका थिए।