मेचीनगर, असोज २९। दुर्गेश्वरी कृषि सहकारी संस्था मेचीनगर–८ को १२ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाले कोरोना भाईरस कोभिड–१९ को कहर बिच क्षेत्रगत प्रतिनिधि छनोट गरी साधारण सभा आयोजना गरेको थियो । कार्यक्रमको उद्घाटन् प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गा सापकोटाले गरेका थिए ।

प्रमुख अतिथि सापकोटाले मुलुकको अर्थतन्त्र बलियो बनाउने आधारका रुपमा सहकारी पनि एक भएको भन्दै उनले सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताए ।
कार्यक्रमका सभापति एवं संस्थाकी अध्यक्ष खिला मेचेद्धारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको खुल्ला सत्रमा स्वागत उपाध्यक्ष सन्तोष मेचे र सञ्चालन सचिव रेवन्तराज पोख्रेल (अर्जुन) ले गरेका थिए ।

२०६५ सालमा स्थापना भएको सहकारीको अहिलेको शेयर पूजी रु ४५ लाख ९५ हजार ८०० रहेको संस्थाका व्यवस्थापक गंगा प्रसाद मेचेले जानकारी दिए । व्यवस्थापक मेचेका अनुसार अघिल्लो आर्थिक बर्ष भन्दा यो आर्थिक बर्ष शेयर पूजी ४ लाख बढी बृद्धि भएको बताए । उनका अनुसार अघिल्लो आर्थिक बर्षमा शेयर पूजी ४२ लाख ८ हजार १०० रहेको थियो ।


