


स्वस्तिका दाहाल
झापा, कात्तिक १४ । छोरा पाल्नु शहरमा,छोरी पाल्नु कहरमा
दूध उम्ले अँगेनामा,छोरी उम्ले खाल्डोमा
खोली बढे बटुवालाई पीर, छोरी बढे माईतीलाई पीर
आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष
यी भनाइलाई सार्थकता दिँदै आएको हाम्रो समाजमा नारीको अवस्था निकै नाजुक छ। नारी भनेका साक्षात लक्ष्मीको रुप मानिन्छन्। संसारको सृष्टि संचालनार्थ अति महत्वपूर्ण भूमिका उनै नारीकै पोल्टामा जान्छ । आधा आकाश ढाक्ने संख्यामा रहेका नारीहरु अझै पनि पिछडिरहेका छन् । नारी र पुरुष बराबर भनिएता पनि पुरुषसँग हातेमालो गर्दै अघि बढ्न केवल भनाइ र लेखाइमा मात्र सिमित छ भन्दा अतिशयोक्ती नहोला । समाज ,राष्ट्र समृद्ध बन्न , प्रगतिको पथमा अग्रगामी हुन नारी र पुरुष दुबै बराबर सक्रिय हुनुपर्छ जसको निम्ति नारी शिक्षा अति आवश्यक देखिन्छ ।


नारी शिक्षाको सन्दर्भमा,आजको २१औं शताब्दीमा नारी होस् या पुरुष शिक्षा अति आवश्यक छ। नारी शिक्षाको क्षेत्रमा पिछडिएका देशहरू समृद्धि पथमा लम्कन कहाँ सकेका छन् र रु हाम्रो समाजमा महिलाको क्षमतामा बिश्वास नगर्ने र पुरुष नै सर्वैसर्वा मान्ने प्रथा अझै पनि विद्यवान नै छ। नारीले घर सम्हाल्नु पर्छ भन्ने सोच राखी उनीहरुलाई चुलो(चौको र डोको(नाम्लोमा मात्र सिमित राख्ने प्रबृत्तिको अन्त्य कहिले होला ?
नारीले सन्तान जन्माउने र घरको जिम्मेवारी बहन गर्नुपर्छ भन्ने सोचबाट माथि उठेर महिला र पुरुषको बराबर सहभागिताले मात्र संसार चल्छ भन्ने सोचको विकास अत्यन्त आवश्यक छ।
नारीले शिक्षा पाए पुरुष समान काम गर्न सक्छन्। नारी शिक्षित भए उनले आफ्नो क्षेत्रबाट अब्बल कार्य गर्न सक्छिन्। पुरुष शिक्षित भए केवल एक व्यक्ति शिक्षित हुन्छ तर नारी शिक्षित भए परिवार ,समाज र संसार नै शिक्षित हुन्छ भन्ने भनाई त प्रचलित नै छ। शिक्षाले उनी भित्रको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्छ। नारी आफू शिक्षित भएपछी सबैलाई माया र स्नेहका साथ शिक्षा प्रदान गर्ने क्षमता राख्छिन् ।आफ्नो सोच विचार प्रस्तुत गर्दै पुरुषसँग सहकार्य गरी उनी प्रगति पथमा अघि बढ्न सक्छिन्। आफ्नो व्यक्तित्व विकाससँगै सारा संसारको विकास गर्न उनी अथक अभ्यास गर्न पछी पर्दिनन्।
तसर्थ सङ्कुचित सोच परित्याग गर्दै, नारीलाई शिक्षित बनाउन हरेक क्षेत्रका मानिसले आफ्नो ठाँउबाट सक्दो पहल गर्नुपर्छ। नारीले शिक्षाको सुन्दर ज्योति छर्दै संसारलाई विकासको मार्गमा हिँड्न प्रोत्साहन दिँदै सुनौलो बिहानी देखाउने भएकाले नारीलाई पुरुष बराबर स्थानमा पुर्याउन अति आवश्यक छ।
अतः शिक्षाले नै नारी पुरुष बीचको भेदभाव त्याग्ने भएकाले नव युगको प्रारम्भ कसो नहोला ? बिचार गरौँ ।




