बाहुण्डाँगी, २० मंसिर । बर्खाको समयमा आएको हावाहुरीका कारण मेचीनगर ९ जेसीज गाउँकी एक बृद्धाको घर हावाहुरीले भत्काइदियो । घाम पानी छेक्ने एउटा सानो छानो पनि हावाहुरीले उडाइदिएपछि विस्तावित भएर छोरीको घरमा बस्न थाल्नु भयो । घरबार बिहिन बनेकी ति लाफा आमैको त्यो दर्दानक अवस्था मेचीनगर लेडी जेसीजले नजिकबाट देख्ने अवसर पायो । जुन समयमा जेसीज सप्ताह सुरु हुन लागेको थियो ।

मानवताको सेवामा काम गर्ने संस्थाले सोही ठाँउमा लाफा आमैको घरको त्यो अवस्था देखेपछि सोही समयमा मेचीनगर लेडी जेसीजको पहलमा घर बनाइदिने वचन दियो । त्यसपछि घर बनाउने अभियानमा लाग्यो । त्यसका लागि मेची अभियानका संयोजक विजय डालमियाले दर्विलो साथ दिनु भयो । शाखाले अन्य विभिन्न संघ संस्थाहरु, शाखाका साथीहरुको सहयोगमा काम सुरु गरेको १ महिना १५ दिनमा घर निर्माण गर्यो । जुन घर ति लाफा आमालाई शनिवार विशेष कार्यक्रम गरी हस्तान्तरण गरेको छ । घर निर्माणपछि घरको चावी हस्तान्तरण गर्दा ती वृद्धा आमैको अनुहारमा एक किसिमको खुसिको चमक देखिन्थ्यो भने केही भावुक पनि । अर्कातिर जेसीज टिमको खुसी देखिन्थ्यो । एउटा गरिब परिवारलाई त्यसमा पनि एक्लो बृद्धा आमाको घर निर्माण गरेर हस्तान्तरण गर्न पाएकोमा ।

शाखाकी अध्यक्ष तुलसा दंगालले घर हस्तान्तरणपछि आफ्नो फेसबुक वालमा तस्विर पोष्ट गर्दै आफुले केही समय अघि गरेको प्रतिबद्धता पुरा गर्न पाएकोमा खुसी व्यक्त गर्नु भएको छ । साथै उहाँले आफ्नो कार्यकाल सकिन्दै गर्दा सानो भए पनि सत्कर्म गर्ने अवसर पा्रप्त भएको र यस सत्कर्ममा साथ दिने सबैमा धन्यवाद व्यक्त गर्नु भएको छ ।

१ लाख ५० हजार रुपैयामा निर्माण गरिएको उक्त घर शनिवार हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा मेची अभियानका संयोजक विजय डालमिया, वडा नम्बर ९ का वडा अध्यक्ष गोपाल खड्का, वडा नम्बर १० का वडा अध्यक्ष सुदय पनेरु, शाखाकी संस्थापक अध्यक्ष कविता शर्मा, पूर्व अध्यक्ष टिका सुवेदी, सुनिता पनेरु, निवर्तमान अध्यक्ष मञ्जु खनाललगायत जेसीज टिमको सहभागिता रहेको थियो । कार्यक्रम शाखाकी अध्यक्ष तुलसा दंगालको सभापतित्वमा सम्पन्न भएको थियो ।

