अर्थ संघ \संस्था

बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर, पुष ४ । झापाको मेचीनगर–८ स्थित खडियाबस्तीमा कार्यालय रहेको बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले सहकारी अभियानले आम मानिसको जीवनस्तर रुपान्तरण गरेको उल्लेख गर्दै सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानको एउटा शसक्त क्षेत्र सहकारी भएकाले जनताको सन्तुष्टीका लागि सहकारीले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले सरकारले सहकारीमार्फत गरिबीको रेखामूनि रहेका आम मानिसहरुको जीवनस्तर रुपान्तरणका लागि उत्पादन र रोजगारीको अवसर सिर्जना गर्ने ढंगबाट सहकारीहरुको व्यवस्थापन र सञ्चालनको नीति अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकहरुका लागि नागरिकहरुद्धारा नै सञ्चालन हुने सहकारी नीतिलाई आत्मसाथ गर्दै सहकारीलाई उत्पादन, रोजगारी र विकाससँग जोड्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथि मेचीनगर–५ का वडा अध्यक्ष योगेन्द्र थापामगर र महेन्द्रद्वार सहकारी संस्थाको अध्यक्ष राजकुमार दाहाल (राजु) त्यसै गरेर अतिथिहरु नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका सचिव केशव तिम्सिना, शिक्षासेवी देवनारायण सिटौलालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष दशरथ खडियाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । लेखा संयोजक पाष्टर दशरथ खडियाले संस्थाको लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी शनिबार सम्पन्न संस्थाको सभाले आगामी पुस २५ गते भित्रमा संस्थाको नयाँ सञ्चालक समिति चयन गर्न राजेन्द्र राईको संयोजकत्वमा प्रतिक उराउ र देवनारायण सिटौला सदस्य हरने गरी तीन सदस्यीय निर्वाचन समिति पनि चयन गरेको छ ।

२९ जना शेयर सदस्यबाट प्रतिब्यक्ति एक हजारका दरले रकम संकलन गरी वि.स २०६५ सालमा स्थापना भएको यस सहकारी संस्थाले चिया मजदुर, न्युन आय भएका बिपन्न तथा पिछडिएका समुदायलाई समेटेर उनिहरुको आर्थिक सक्रियतामा रचनात्मक भूमिका निर्वाह गर्दै आईरहेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७र०७८ मा संस्थाको सेयर पूँजी २१ लाख ३४ हजार १५० रुपैयाँ पुगेको छ । संस्थाले यस अवधिमा १ करोड १७ लाख ६० हजार २१३ रुपैयाँ बचत संकलन गरी ८६ लाख कर्जा प्रवाह गरेको जनाएको छ । संस्थाको कुल कारोबार एक करोड ४५ लाख ५४ हजार २३१ रुपैयाँ रहेको छ ।

संस्थाको अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत संस्थाकी व्यवस्थापक आरती उराउ र सञ्चालन संस्थाको संञ्चालक समिति सदस्य विकास देवकोटाले गर्नु भएको थियो ।