भद्रपुर, पुस १७ । प्रदेश नम्बर १ का सांसद वसन्त बानियाँले भद्रपुर नगरपालिका १ स्थित त्रिवेणी खोलामा पक्की पुलको शिलान्यास गरेका छन् ।

पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १५.४० मिटर लम्बाई र ८.४० मिटर चौडाइ रहेको सो पुलको सांसद बानियाँले शुक्रवार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन ।
रकमको कारण निर्माण कार्य अवरोध हुन नदिने प्रतिबद्धता जनाउँदै सांसद बानियाँले गुणस्तर र तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । कार्यक्रममा भद्रपुरका नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले स्थानीय समुदायले आफ्नो क्षेत्रमा निर्माण हुन लागेको कामलाई सहयोगी भई जुट्न आग्रह गरे ।
पूर्वाधार विकास कार्यालयका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर रमेश श्रेष्ठले बजेटको अभाव र स्थानीय अवरोध भएन भने तोकिएकै समयमा गुणस्तरीय पूल निर्माण गरिने दृढता व्यक्त गरे ।
पुलको भ्याटसहित कुल लागत १ करोड ८४ लाख ९६ हजार २१० रुपैयाँ रहेको छ । कार्यक्रममा भद्रपुर ७ नम्बर वडा अध्यक्ष विनोदकुमार पोखरेल, २ नम्बर वडा अध्यक्ष भीम सुब्बा, कार्यपालिका सदस्य कौशिल्या अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


