खेलकुद

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

काठमाडौं, माघ १२ । इङ्ग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा खराब प्रदर्शन गरेको भन्दै चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेको हो । उनी टोलीमाआबद्ध भएको १८ महिनामै बर्खास्तीमा परेका हुन् । चेल्सीले उनलाई ३ बर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रिमियर लिग क्लबले आज सामाजिक सञ्जालमार्फत् लाम्पार्ड बर्खास्त गरेको पुष्टि गरेको छ । जारी सिजनको लिगमा चेल्सी पछिल्ला आठ खेलमध्ये पाँच खेलमा पराजित भएको थियो । एफए कप अन्तर्गत लुटोन टाउनमाथि ३–१ गोलको जित निकालेको २४ घण्टामै चेल्सीले कठोर निर्णय लिएको हो । ४२ वर्षीय लाम्पार्डले अघिल्लो सिजन चेल्सीलाई शीर्ष चारमा रहन महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

यो सिजन चेल्सीले १९ खेल खेलिसकेको ऊ २९ अङ्कका साथ नवौं स्थानमा छ । लाम्पार्ड चेल्सीका पूर्व–खेलाडीसमेत हुन् । लाम्पार्डले खेलाडी जीवनमा चेल्सीमा १३ वर्ष बिताएका थिए । स्टाम्फोर्ड ब्रिजमा रहँदा मुख्य ११ उपाधि जितेका उनी १८ महिनाअघि मात्र चेल्सीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।