समाचार

प्रदेश नं १ को स्थगन प्रदेशसभा बैठक आज

विराटनगर, माघ २५ । प्रदेश नं १ को स्थगन सातौ हिउँदे अधिवेशन आज (आइतबार) दिउँसो २ बजे बस्दैछ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बस्न लागेको बैठकको कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले आइतबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । नेकपा विभाजनपछिको विवादका यही माघ ७ गते शुरु भएको सो अधिवेशन सञ्चालन भएको तीन मिनेटपछि अर्को सूचना जारी नभएसम्म स्थगन भएको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए ।

आइतबारको बैठकमा आफ्नो समूहले कारवाही गरेका १६ जना प्रदेश सभा सदस्यलाई प्रवेश दिएमा बैठक रोक्ने पक्षमा ओली समूह छ । तर मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूह आइतबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्नुपर्ने अडानमा छ ।

नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी कारवाहीमा परेका १६ सांसदलाई बैठक कक्षमा प्रवेश गर्न दिन नमिल्ने बताए । कारवाहीमा परेका प्रदेशसभा सदस्य बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुननसक्ने उनले बताए । कारवाही गरिएका सदस्य बैठकमा उपस्थित भए सत्ता पक्षका सांसदले उठेर नियमापती गर्ने उनले बताए ।

प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो १६ जना प्रदेशसभा सदस्य कारवाहीको च्याप्टर क्लोज भइसकेको बताउँछन् । पहिलो बैठकमा प्रवेश गरेपछि कारवाहीको च्याप्टर क्लोज भएको बताउँदै उनले ओली पक्षको दाबी हास्यास्पद भएको बताए । कारवाहीको विषय झिकेर बैठक रोक्न नमिल्ने बताउँदै उनले आइतबार नै अविश्वाको प्रस्ताव बैठकमा टेबुल हुनुपर्ने बताए । ‘बैठकमा अविश्वासको प्रस्ताव टेवल गरिनुपर्छ,’ उनले भने ‘सरकारले संसदमा प्रश्तावको सामना गर्छ भन्ने विश्वास छ ।’

ओली समूहका प्रमुख सचेतक राजभण्डारीले १६ जना सांसद बैठकमा प्रवेश गर्न रोकिए मात्र संसदको गतिबिधि अघि बढाउनुपर्ने बताउँछन् । निलम्बन गरेका १६ जना बैठकमा प्रवेश गरे बैठक चल्न नसक्ने उनको दाबी छ ।