खेलकुद

पिएसजी दोस्रो स्थानमा

काठमाडौं, फागुन १६ । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) शानदार जित निकालेको छ । शनिबार राति पिएसजीले डिजोनलाई उसैको मैदानमा ४–० गोलले हराएको हो ।

पिएसजीलाई जिताउन किलियन एम्बाप्पेले दुई गोल गर्दा मोइसे किन र डेनिलो पेरेर्राले समान एक–एक गोल गरे । खेलको छैटौँ मिनेटमा किनले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।

३२औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पहिलो हाफभरि पिएसजीको अग्रता दोब्बर बनाए । एम्बाप्पेले ५१औँ मिनेटमा दोस्रो गोल गर्दै पिएसजीलाई ३–० गोलले अगाडि बढाउँदा ८२औँ मिनेटमा पेरेर्राले गोल गर्दै शानदार जित दिलाए ।

जितसँगै पिएसजी दोस्रो स्थानमा उक्लिएको छ । उसले २७ खेलमा ५७ अङ्क जोडेको छ । डिजोन भने १५ अङ्कका साथ पुछारमा छ ।