खेलकुद

श्रीनाथ गण चारआली सेमीफाइनलमा

बाहुण्डाँगी, फागुन १६ । नव ज्योति युवा क्लबको आयोजजामा शनिवारबाट सुरु भएको नव ज्योति नकाउट फुटबल प्रतियोगितामा श्रीनाथ गण चारआली (आर्मी) सेमीफाइनलमा प्रवेश गरेको छ ।

नव ज्योति निमाविको खेल मैदानमा आइतवार भएको खेलमा रोलिङ क्लब धुलावारीलाई २–० को गोल अन्तरले पछि पार्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

जितका लागि आर्मीका देवेन्द्र चौधरी र श्यामबाबु चौधरीले एक एक गोल गरेका थिए । सुरु देखि नै अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुबै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको म्यान अफ द म्याच आर्मीका निशान्त राई घोषित भएका क्लबका उपाध्यक्ष सुमन थापाले बताए । उनलाई स्थानीय तुलसी दाहालले सौजन्य गरेको नगद पुरस्कार प्रदान गरिएको थियो ।

सोमबारको खेल सशस्त्र प्रहरी बल पकली र कनकाइ ११ सुरुङ्गाबिच हुने आयोजक समितिका अध्यक्ष चन्द्र तामाङले बताए । प्रतियोगिता २२ गतेसम्म हुने छ ।