बाहुण्डाँगी, फागुन १७ । मेचीनगर ३ बडाखालमा जारी नव ज्योति नकाउट फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल पकली सेमीफाइनलमा प्रवेश गरेको छ ।
नव ज्योति युवा क्लबको आयोजनामा नव ज्योति निमाविको खेल मैदानमा सोमवार भएको खेलमा कनकाइ ११ सुरुङ्गालाई ५–१ को फराकिलो गोल अन्तरले पछि पार्दै पकलीले सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि सशस्त्रका बिजु भुजेलले ह्याट्रिक गरे भने मौसम सुब्बा र सनोज कार्कीले १/१ गोल गरेका थिए । सुरुङ्गाका तर्फबाट सौरभ साउदेनले सान्तवना गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच सशस्त्रका विजु भुजेल भए् । उनलाई धनबहादुर थापाले सौजन्य गरेको नगद पुरस्कार प्रदान गरिएको थियो ।
मंगलवारको खेल काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धाइजन चारआली क्लबबिच हुने आयोजक समितिका सचिव इन्द्रमणि पोखरेलले बताए । प्रतियोगिताका विजेताले नगद ८० हजार प्राप्त गर्नेछन भने उपविजेता टिमले नगद ५० हजार पाउनेछन् ।

