राजनीति

खुला राजनीतिमा आयो विप्लव समूह

काठमाडौं, फागुन २१ । हिंसात्मक राजनीतिको बाटो समातेको नेत्रविक्रम चन्द विप्लव समूह अब खुला राजनीतिमा आएको छ ।

सरकारसँगको वार्ता सफल भएपछि विप्लव समूहमाथिको प्रतिबन्ध पनि फुकुवा भएको छ । जसले विप्लव समूहलाई खुला राजनीतिमा प्रवेश गर्नलाई मार्ग प्रसस्त गरिदिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’ प्रतिबद्धता जनाएसँगै सरकारसँग तीनबुँदे सहमतिसमेत गरेको छ ।

यसअघि, सरकारले २८ फागुन २०७५ मा ‘राजनीतिक गतिविधि गर्न बन्देज गर्नेगरी’ सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । विप्लव समूहका थुनामा रहेका नेता–कार्यकर्ता छाड्ने र सरकार पक्षबाट लगाइएका मुद्दा खारेज गर्ने सहमति दुई पक्षबीच भएको छ । तर, विप्लव समूह संसदीय व्यवस्था विषयमा ‘जनमत संग्रह’ हुनुपर्ने माग विषयमा भने ‘व्याक’ भएको छ ।

दुवै पक्षबीचको तीनबुँदे सहमति आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको संयुक्त हस्ताक्षरसहित सार्वजनिक गरिँदै छ । दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सहमतिपत्र सार्वजनीकरणसँगै प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने तय भएको छ । राजधानी दैनिकमा समाचार छ