संघ \संस्था

काँकरभिट्टा खानेपानीमा निर्वाचनमा १२ पदमा ३३ जनाको उम्मेद्वारी

मेचीनगर, चैत १२ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि विभिन्न पदमा विहीबार मनोनयन दर्ता भएको छ ।

खानेपानीको आउँदो निर्वाचनका लागि कुल १२ पदमा ३३ जनाको उम्मेद्वारी परेको निर्वाचन समिति सदस्य सचिवसमेत रहेका संस्थाका कार्यालय प्रमुख दिपक पोखरेलले जानकारी दिए ।

अध्यक्ष पदमा ४ जनाको उम्मेद्वारी परेको छ । जसमा संस्थाका वर्तमान अध्यक्ष हर्क सुब्बा फियाक, वर्तमान सचिव राजकुमार पराजुली, गणेशकुमार खरेल र लिलानाथ आङ्दाम्बेले उम्मेद्वारी मनोनयन गरेका छन् ।

अध्यक्ष पदमा उम्मेद्वारी दिएका फियाक काँग्रेस निकट उम्मेद्वार हुन भने पराजुली नेकपा एमाले निकट उम्मेद्वार हुन् । फियाक नेतृत्वको लोकतान्त्रिक प्यानलतर्फ नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र नेकपा माओवादी ९केन्द्र० बीच चुनावी गठबन्धन भएको छ ।

पराजुली नेतृत्वको प्यानलले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन गर्दै साझा उम्मेद्वारको रुपमा अघि सारेको छ । अध्यक्ष पदमा मनोनयन दर्ता गराएका खरेल र आङ्दाम्बले स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावी प्रतिस्पर्धामा नाम दर्ता गराएका छन् । 

त्यस्तै, उपाध्यक्ष पदमा समेत ४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । कृष्णबहादुर सुवेदी ९किरण०, गोविन्द गिरी, रिनादेवी खरेल, राजु चेम्जोङ रहेका छन् । खरेल लोकतान्त्रिक प्यानलकी उम्मेद्वार हुन् भने गिरी साझा प्यानलका उम्मेद्वार हुन् । सुवेदी र चेम्जोङले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । 

त्यस्तै, सचिवमा ३ जनाकोे उम्मेद्वारी परेको छ । लोकतान्त्रिक प्यानलबाट दिलीपजंग सुब्बा, साझा प्यानलबाट चन्द्रप्रसाद निरौलाको उम्मेद्वारी पर्दा पत्रकार लक्ष्मीप्रसाद उप्रेती ९सानो० ले स्वतन्त्र उम्मेद्वारको रुपमा मनोनय दर्ता गराएका छन् ।

कोषाध्यक्षमा मीनाकुमारी कट्टेल, हेमा सिटौला, भवानी महत रहेका छन् । कट्टेललाई लोकतान्त्रिक प्यानलले अघि सार्दा सिटौलालाई साझा प्यानले अघि सारेको हो भने महत स्वतन्त्र उम्मेद्वार हुन् ।

महिला सदस्यतर्फ जोसना राजवंशी, पार्वती खड्का, मीनमाया लिम्बु सुब्बा र दुर्गादेवी भेटवाल अधिकारी रहेका छन् । क्षेत्रगत वडा सदस्यतर्फ वडा नम्बर ५ सम्मका लागि रविन राउत र केदारजंग भट्टराईको उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै, वडा नम्बर ६ तर्फको सदस्यका लागि प्रितम काफ्ले, शेरबहादुर थापा र प्रकाश गुरुङ रहेका छन् ।

वडा नम्बर ७ र ८ बाट सदस्यका लागि नारायण काफ्ले, खगराज भट्टराई र भवानी तुम्बापोको उम्मेद्वारी परेको छ । संस्थाको लेखा समिति संयोजकका लागि जीवनकुमार थापा, कृष्ण कट्टेलले उम्मेद्वारी दिँदा खुला सदस्यमा इन्दिरा बुढाथोकी अधिकारी र टोलबहादुर सुनार ‘नारायण’ ले नाम दर्ता गराएका छन् । लेखा समिति महिला सदस्यमा सीता राई र मीरा कार्कीले मनोनयन दर्ता गराएका छन् ।

संस्थाको कार्यालयमा बिहीबार विहान ११ बजेदेखि ३ बजेसम्मका लागि मनोनयको समय अवधि तोकिएको थियो । दुवै प्यानलका उम्मेद्वारहरुले एकै समयमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन समिति सदस्य सचिव पोखरेलले जानकारी दिए ।

उम्मेद्वारको दाबी विरोधका लागि शुक्रवार दिउँसो १ बजेसम्मका लागि समय तोकिएको छ भने उम्मेद्वारी फिर्ताका लागि अपरान्ह ३ बजेसम्मका लागि समय तोकिएको निर्वाचन समिति सचिव पोखरेलले बताए । आगामी ३ वर्षे कार्यकालका लागि काँकरभिट्टा खानेपानीको निर्वाचन यही चैत २१ गते शनिबार हुँदैछ ।