मेचीनगर, बैशाख २७ । झापाकाे मेचीनगरका समाजसेवी राजन चिमरियाले आज आफ्नो १८ औँ वैवाहिक वर्षगाँठकाे अवसरमा १५ विपन्न घर परिवारलाई स्वास्थ्य विमा गरि दिएका छन्। झापाकाे मेचीनगर नगरपालिकाकाे परिसरमा आज एक कार्यक्रम गरि साे स्वास्थ्य विमा बापतकाे ५२ हजार ५ सय रुपैयाँ रकम नगरका प्रमुख विमल आचार्यलाई हस्तारण गरेका हुन।
रितिका डेरी उद्योगका सञ्चालक समेत रहेका चिमरियाले मेचीनगरका १५ विपन्न घर परिवारको पहिचान गरी उनीहरुको स्वास्थ्य विमा गरिदिएका हुन् । नगरका प्रत्येक वडाबाट एक/एक गरी १५ वटै वडाका जम्मा १५ परिवारको बीमा गरिदिन उनले बताए ।
समाजसेवी चिमरियाले स्वास्थ्य जोखिम बढिरहेकाले आफ्नो वैवाहिक वर्षगाँठ गरिब दुःखीको स्वास्थ्य सेवामा समर्पित गरेको बताए । ‘रकम अभावका कारण कैयौँले स्वास्थ्य उपचार पाउन सकेका छैनन्,’ उनले भने– ‘स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले अभियान सुरुवात गरेको हुँ ।’ उनले कात्तिक १६ पर्ने आफ्नो जन्मदिनको अवसरमा यसपाली पनि १५ घरपरिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका छन् ।
चारआली–धाइजन निवासी चिमिरियाले २०६१ सालमा सुरुंगा निवासी गौरा मैनालीसँग विहे गरेका हुन् । विहे पश्चात हरेक वर्ष बैशाख २७ गते र आफ्नो जन्मदिन कात्तिक १६ गते दिनदुःखीका लागि सहयोग गर्दै आएका छन् । कहिले गरिबको घरमा छाना लगाइदिने त कहिले खाद्य सामग्री घरैमा पुगेर वितरण गर्ने गरेका छन् ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर वडा नम्बर ४ का वडा अध्यक्ष नविन वराल, १२ का वडा अध्यक्ष नरेन्द्र धिमाल र पत्रकारहरुकाे उपस्थित रहेकाे थियो भने कार्यक्रमकाे सञ्चालन मेचीनगर नगर स्वास्थ्य शाखा संयोजक रामनारायण यादवले गरेका थिए ।

