संघ \संस्था

सरकारको स्वास्थ्य मापदण्ड बिनै लकडाउनमा पनि टोकला बगान निर्वाध रूपमा सञ्चालन

मेचीनगर, जेठ २ । झापा जिल्लामा कडा निषेधाज्ञा जारी रहे पनि जिल्लाका अधिकांस चिया बगानहरू भने निर्वाध रूपमा सञ्चालन भईरहेका छन् ।

यस्तै मेचीनगर क्षेत्रमा रहेको नेपाल चिया विकास निगमद्वारा सञ्चालित टोकला चिया बगानले पनि सरकारको निर्णय लाई समेत अट्टेर गरि निर्वाध रूपमा सञ्चालन गरिरहेको पाईएपछि मेचीनगर नगरपालिकाले त्यसको ध्यानाकर्षण गराएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको समयमा उद्योग सञ्चालकहरुले उद्योग सञ्चालन गर्नु परे सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड मानेर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसको बेवस्ता गर्दै टोकला बगानका मजदुरहरु गाँउ घरबाट नै काम गर्न आउने जाने गरेका छन् ।

आईतबार नगर प्रमुख विमल अाचार्यको नेतृत्वमा टोकला चिया बगान परिसरमा नै पुगेर स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै श्रमिकलाई काममा लगाउन टोकला बगान प्रशासनलाई निर्देशन दिएका छन् ।

अनुगमनमा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल वडा सदस्य गंगा पाठक, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी शुनिल दाहाललगायतका टोलीले कारखानामा नै पुगेर नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएका छन् ।

कोरोना संक्रमणले विश्व नै आक्रान्त बनिरहेको बेला झापा टोकला बगानका करिब ३ सय बढी श्रमिकहरू अहिले रोग संगसंगै भोक संग पनि चिन्तित बनेका छन् ।

एक श्रमिकले भने काम गरौं कोरोना संक्रमण सर्ने डर नगरौं भोकभोकै हुने पीडा, अब हाम्रो समस्या कस्ले बुझिदिने उनले भने ।