झापा, जेठ २० । झापामा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।
बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेकाे जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जेठ २१ गतेसम्मका लागि लगाइएको निषेधाज्ञा पुन: जेठ मसान्तसम्मका लागि लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
गत बैशाख २२ गते देखि जारी निषेधाज्ञा एक महिना पुगिसक्दा पनि जिल्लामा कोरोना संक्रमण नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको बिकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो ।
बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसलहरू खुलाउने निर्णय गरेको छ । हप्तामा दुई दिन आइतबार र बुधवार बिहान ६ देखि ९ बजेसम्म पसल खुलाउन पाउने निर्णय गरेको जनाइएको छ ।
ती सामानहरूको होम डेलिभरी सेवा भने यथावत् राखिएको छ । साथै वित्तीय संस्थाको हकमा हप्ता तीन दिने खुलाउन पाउने निर्णय गरेको छ । विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने जनाइएको छ ।

