झापा असार ३ । निषेधाज्ञाको मौका छोपी व्यापारीहरूले यतिबेला दैनिक उपभोग्य सामाग्रीहरूमा चर्को मुल्य असुल्ने गरेको पाइएको छ ।
अति आवश्यक दैनिक उपभोग्य सामाग्रीहरूमा व्यापारीले मनपरी तरिकाले तोकेको मुल्य भन्दा बढी रकम असुल्ने गरेपछि त्यसको प्रत्यक्ष मारमा यतिबेला उपभोक्ता परिरहेका छन् ।
मेचीनगरको अधिकांश किराना पसलेहरूले ग्राहकलाई तोकेको मुल्य भन्दा बढी लिने गरेका छन् । नगरका व्यपारीहरूले खाने तेल, चिनि, चिया रङ्ग, चना, मटरलगायतका सामाग्रीहरूमा बढी मुल्य लिने गरेका हुन् ।
व्यपारीले प्रत्येक सामानमा २० रूपैयाँ देखि ५०/६० रूपैयाँसम्म बढी लिने गरेको उपभोक्ताले गुनासो गरिरहेका छन् । यस्तै व्यापारीले सुनौलो किरण तोरीको तेलमा प्रती लिटर तोकेको भन्दा ३४ रूपैयाँ बढी मुल्य लिएको खुलेको छ ।

कम्पनीको एमआरपी मुल्य प्रति लिटर २२६ रूपैयाँ रहेकोमा व्यापारीले २६० रूपैयाँ लिएको मेचीनगर-२ का ललित बहादुर प्रधानले बताए ।
त्यस्तै गौरीगंज गाउँपालिकाका कुमार दुलालले पनि चिनी, चियारङ्ग लगायतका खाद्यान्न सामाग्रीहरूमा तोकेको मुल्यभन्दा बढी तिर्नु परिरहेको बताए ।
जिल्ला तथा पालिका स्तरिय अनुगमन समिति बनाएर अनुगमन गरेपनि प्रभावकारी बन्न नसक्दा सर्वसाधारणले चर्को मूल्य तिर्न बाध्य बनेका हुन् ।

