झापा, असार ६ । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत शनिबार पनि तीन खेल भएको छ ।
शनिबार भएको पहिलो खेलमत फ्रान्स बराबरीमा रोकिएको छ । फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।
पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । रोलान्ड सालियाको पासमा उनले उत्कृष्ट गोल गरेका हुन् ।
तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।
त्यसबाहेक खेल अवधि भर विश्व विजेता फ्रान्सले एकतर्फी पकड जमाएको थियो । तर, गोल गर्न असफल भयो ।
त्यस्तै जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । म्युनिखमा शनिबार राति भएको दोस्रो खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
एलिनाज स्टेडियममा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे ।
जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे ।
यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काए । रोमान्चक बनेको खेलको पाँचौं मिनेटमा जर्मनीका रोबिनले गोल गरेका थिए । तर, भीएआरमा सर्जी जिनाब्री अफसाइड देखिएपछि उनको गोलले मान्यता पाए ।
खेलको १५ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । उनले डिएगो जोटाको पासमा गोल गरे । जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल हो । यस्तै रोनाल्डोको यो १ सय ७ औं अन्तराष्ट्रिय गोल हो ।
जारी युरोमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरोकपमा कीर्तिमानी १२ औं गोल हो । तर, खेलको ३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको स्थितिमा आयो ।
३९ औं मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २-१ को अग्रता बनायो । जोसुवा किमिचको क्रस क्लियर गर्ने क्रममा राफायलले आफ्नै पोस्टमा गोल गरेका हुन् ।
दोस्रो हाफमा जर्मनी थप आक्रामक बन्यो । खेलको ५१ औं मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए । ६० औं मिनेटमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४-१ को अग्रता दिलाए । उनले किमिचको पासमा गोल गरेका हुन् ।
त्यसपछि खेलको ६७ औं मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काएपनि जर्मनी ४-२ ले विजयी भयो । उनले रोनाल्डोको पासमा गोल गरेका हुन् ।
त्यसैगरी स्पेन बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।
सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले जेरार्ड मोरेनोको पासलाई सदुपयोग गरे ।
तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । उनले कामीलको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरेका हुन् । यस्तै खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।
यससँगै समूह ‘ई’ को स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ ।

