अर्थ

सरकारी निर्णयको बेवास्ता गर्दै मध्यरातमा नदी उत्खनन्, युवा आन्दोलित

झापा, असार ७। झापाको अर्जुनधारा नगरपालिका स्थित बिरिङ नदीमा प्रतिबन्ध लगाएको समयमा समेत नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार हुने गरेको पाईएको छ ।

अर्जुनधारा वडानम्बर १ मा अहिले पनि मध्यरातमा नदिजन्य पदार्थ उत्खनन् हुनेगरेको त्यहाँका स्थानिय युवाहरू बताउछन् ।

सरकारले भने असार १ गतेदेखि तीन महिनाका लागि कुनै पनि नदीबाट नदिजन्य पदार्थ उत्खनन्मा प्रतिबन्ध लगाएको छ ।

तर सरकारी नियमको बेवास्ता गर्दै तस्करहरूले गाउँलाई नै बिपत्ति पुर्‍याउने गरि उत्खनन् गरिरहेका छन् ।

अबैध उत्खनन् नरोकिए पछि सोमबार अर्जुनधारा १ का युवाले नदी दोहनको बिरुद्धमा वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्र बुझाउदै तत्काल नदिजन्य पदार्थ उत्खनन् रोक्न सम्बन्धि निकायलाई चेतावनी समेत दिएका छन् ।

युवाहरुले वडा कार्यालयको बुझाएकाे ध्यानाकर्षण पत्रमा अर्जुनधारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई बोधार्थ दिइएको छ ।

बिरिङ नदीमा ठुला–ठुला खाडल बनाएर खोलाजन्य सामग्री उत्खनन गरिएका कारण नदी किनारामा रहेका खेतीमा सिंचाईको असुविधा भएको उनिहरूको भनाई छ ।

१० फुटसम्म गहिरो खाडलमा पानी जमेका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै खानेपानीको श्रोत समेत सुक्न थालेको छ ।

प्रहरी प्रशासनले उत्खनन भएको जानकारी पाएपनि नियन्त्रण तथा कारवाही नगरिएका कारण चोरी पैठारीमा संलग्नता भएको हुनसक्ने पत्रमा आशंका ब्यक्त गरिएको छ । एक स्थानियबासिका अनुसार प्रहरीहरु गस्तिमा आएपनी तस्करको घर घुमेर मात्र फर्कने गरेका छन् ।

उनी भन्छन ” जब प्रशासन नै बिक्री भएका छन् भनेर थाहा हुन्छ न्याय को आस मर्दो रहेछ ” । यसका साथै यस बिसयमा टिप्पणी गर्दै पुर्ब माननीय सांसद धर्मशिला चापागाईंले पनि युवाहरुको यस आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेकी छन् ।

प्रशासनले नदीजन्य सामग्रीको दोहन नियन्त्रण नगरे आफुहरु शसक्त प्रतिकारमा उत्रिने चेतावनी पनि पत्रमा दिइएको छ ।

आन्दोलनमा युवाहरुको नेतृत्व गरिरहेका लक्ष्मी गौली भन्छन् “प्रथम चरणमा वडामा ध्यानाकर्षण पत्र बुझाएर नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितीलाई बोधार्थ पठाएका छौं ।

सम्बन्धित निकायले आनाकानी गरेमा हामी युवाहरु आफै नै मेसिन कब्जामा लिएर कारवाही अगाडि बढाउने छौं, र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सम्बन्धित निकाय हुने गौलीले बताए ।