नरेन इलामेली
इलाम, असार २९ । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यारत कार्यालय सहयोगी विमला देवी निरौला पराजुलीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नं. २ तोदी स्थायी ठेगाना भई इलाम नगरपालिका वडा नं. ७ मा डेरा गरि बस्ने बर्ष ४८ कि बिमला देवी निरौला पराजुलीको हत्या अभियोगमा प्रहरीले धनकुटाको होलिखर्क-५ घर भई उच्च अदालत बिराटनगर इलाम ईजलासमा सुरक्षा गार्डको रुपमा कार्यरत बर्ष ३५ को युवराज बानियाँ पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । पराजुलीको शब सोमबार विहान करिब ७ बजेको समयमा उच्च अदालत इलाम इजलास परिसरमा फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानमा मृतक पराजुली र अभियुक्त बानियाँ बीच केहि समय देखि अन्तरङ्ग सम्बन्ध रहेको र सोहि बिषयमा दुबै जना बीच बिवाद हुँदा निज अभियुक्तले मृतकको हत्या गरी घटनास्थलमा फालेको र अभियुक्त बानियाँले स्विकार गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यसरी पहिचान भयो अभियुक्त
सोमबार बिहान अन्दाजी ७ :०५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय इलाममा उच्च अदालत बिराटनगर इलाम ईजलासको कार्यालय परिसर भित्र एक जना तत्काल पहिचान नभएको महिला मृत अवस्थामा भेटिएको खबर पुग्यो । घटनाको खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय इलामका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको कमाण्डमा SOCO सहितको अनुसन्धान अधिकृतको टोलि घटनास्थल पुग्यो । घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अवलोकन गर्दा उक्त अदालतको मुख्य कार्यालय भवनको पुर्व पट्टि र मुख्य न्यायाधिस निवासको पश्चिम पट्टि नालामा निजामति कर्मचारीको पोसाक लगाएको घाँटीमा उच्च अदालत बिराटनगर इलाम ईजलास लेखिएको परिचय पत्र भिरेको अवस्थामा अनुहार नदेखिने गरी महिलाको घोप्टो परेको लाश रहेको भेट्यो ।
अदालतमा कार्यारत कर्मचारीहरुसंग समन्वय गर्दा उक्त मृत लाश सोहि कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत जिल्ला सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा नं. २ तोदी स्थायी ठेगाना भई जिल्ला इलाम इलाम नगरपालिका वडा नं. ७ डेरा गरि बस्ने बर्ष ४८ कि बिमला देवी निरौला पराजुलीको रहेको भनी खुल्न आयो ।
घटनास्थल आसपास एंव मृत लाशको समेत प्रारम्भिक अवलोकनबाट घटना शंकास्पद देखिएले तत्काल तालुक संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुर सहितको बिशेषज्ञ टोली झिकाई डग स्निफिङ (कुकुरबाट गरिने अनुसन्धान) समेत गरियो ।
घटनास्थल तथा मृत लाशको प्रकृति अध्ययन गर्दा निज महिलाको कर्तब्य गरी हत्या भएको हुन सक्ने देखिएकाले घटनास्थल, लाश प्रकृति, मृतकको मोबाईल नम्बर, डग स्निफिङ लगायतको बिश्लेषणको आधारमा जिल्ला धनकुट्टा होलिखर्क-५ घर भई उच्च अदालत बिराटनगर इलाम ईजलासमा सुरक्षा गार्डको रुपमा कार्यरत बर्ष ३५ को युवराज बानियाँ हत्यामा संलग्न भएको प्रारम्भिक अनुसन्धानमा देखिएकोले निजलाई तत्काल नियन्त्रणमा लिई मंगलबार इलाम जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा निज मृतक र अभियुक्त बीच केहि समय देखि अन्तरङ्ग सम्बन्ध रहेकोमा सोहि बिषयमा दुबै जना बीच बिवाद हुँदा निज अभियुक्तले मृतकको हत्या गरी घटनास्थलमा फालेको अभियुक्तले स्वीकार गरेको प्रहरीको भनाई छ ।
मृतकको शव परिक्षणका लागि बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा सुनसरी पठाईएको प्रहरीले जनाएको छ ।

