संघ \संस्था

सिद्धार्थ जेसीजको जेसीज सप्ताह–२०२१ समापन तथा पुरस्कार वितरण समारोह सम्पन्न

बाहुण्डाँगी । सिद्धार्थ जेसीजको जेसीज सप्ताह–२०२१ समापन तथा पुरस्कार वितरण समारोह शनिबार भैरहवामा सम्पन्न भएको छ । गत साउन २९ गतेदेखि सुरु भएको जेसीज सप्ताहको एक समारोहकाबीच शनिबार समापन गरिएको जेसीज सप्ताह निर्देशक दिपक काफ्लेले बताए । जेसीज सप्ताह अन्तर्गत शैक्षिक सामग्री वितरण, उत्प्रेरणात्मक कार्यक्रम, मैत्रीपूर्ण फुटसल, बालगृहमा चित्रकला प्रतियोगिता तथा खिर खुवाउने कार्यक्रम, निःशुल्क दन्त शिविर, खुल्ला कविता प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको काफ्लेले जानकारी दिए ।

सप्ताहको समापन कार्यक्रममा मृगौलासम्बन्धि रोगबाट पीडित सिद्धार्थनगर–१ बेलहियाका दुर्गा राना र क्यान्सर पीडित सिद्धार्थनगर ८ का मञ्जु रानालाई २५र२५ हजार रुपैयाँ सहयोग गरिएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । त्यस्तै चित्रकला, कविता प्रतियोगिताका विजेताहरुलाई नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको ज्ञवालीले जानकारी दिए । त्यसै गरी जेसीआई सिद्धार्थ, नेपाल र लुम्बिनी प्रेस क्लबबीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा विजेता जेसीआई सिद्धार्थ र उपविजेता लुम्बिनी प्रेस क्लबलाई कार्यक्रममा शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले जेसीजबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताए । उनले कार्यक्रम कसरी सञ्चालन गर्नुपर्छ र कसरी बोल्नुपर्छ भन्ने कुरा जेसीजबाटै सिकेको बताए । मन्त्री चौधरीले जेसीजबाट विधिको शासनबारे पनि सिक्न सकिने बताए । उनले यसले युवाहरुलाई धेरै कुरा सिकाएको बताए । लुम्बिनी प्रदेशका युवाहरुलाई समृद्ध बनाउन आवश्यक रहेकोमा उनले जोड दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानका लागि प्रदेश सरकारले पनि पहल गर्नुपर्ने बताए । उनले यसका लागि सिद्धार्थ उद्योग वाणिज्य संघले पनि पहल गर्ने बताए । जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले जेसीज सकारात्मक सोचका साथ अगाडी बढेको बताए । उनले जेसीजलाई नजिकबाट बुझ्न सके धेरै कुरा जान्न सकिने बताए । जेसीआई सिद्धार्थ, नेपालका मानार्थ सदस्य धु्रव कुमार श्रेष्ठले जेसीजले युवाहरुलाई अगाडी बढाउने काम गरिरहेको बताए । उनले जेसीआई सप्ताह २०२१ सफलतापूर्वक सम्पन्न भएको बताए ।

लुम्बिनी प्रदेश सांसद पुष्पा थरुनीले समाज रुपान्तरणमा जेसीजको महत्वपूर्ण भूमिका रहेका बताइन् । उनले जेसीजमा आबद्ध युवाहरुले समाजमा अभियन्ताको रुपमा काम गरिरहेको बताइन् ।
रामग्राम लेडी जेसीजका अध्यक्ष पुष्पा लामादे समाज रुपान्तरणमा जेसीआई सिद्धार्थ, नेपालको महत्वपूर्ण भूमिका रहेको बताइन् । जेसीआई सिद्धार्थ लेडी नेपाल वर्ष २०२१ का अध्यक्ष रीमा न्यौपानेले प्रत्येक वर्षझैं जेसीआई सिद्धार्थले यस वर्ष पनि उत्कृष्ट कार्य गरेको बताइन् ।जेसीआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष मंगल भण्डारीले जेसीआई सिद्धार्थले यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए ।

जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक हरिलाल जैसवालको स्वागत, सह–कोषाध्यक्ष लोकमणि भट्टराईको आस्था पाठ तथा कमल जि।सी।को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।