विविध

नदीजन्य सामाग्री उत्खनन् गर्न पाउनुपर्ने माग गर्दै व्यवसायीहरुको प्रदर्शन

मेचीनगर, असोज ७ । नदीजन्य सामाग्री उत्खनन् गर्न पाउनुपर्ने माग गर्दै मेचीनगरका ट्याक्टर व्यवसायीहरुले आज नगरपालिका अगाडी ट्याक्टर सहित प्रदर्शन गरेका छन् ।

असोज १ गतेबाट सबैतिर नदीजन्य सामाग्री उत्खनन् गर्न लगाइएको प्रतिबन्ध हटिसक्दा पनि मेचीनगरमा भने प्रतिबन्ध कायमै रहेकाले बाधयताबस आज नगरपालिका अगाडी प्रदर्शन गर्नुपरेको व्यवसायीहरुको भनाई थियो ।

असार, साउन र भदौ महिनामा खोला बन्द भएपनि असोजबाट भने उत्खनन् कार्य खुल्ने गरेको थियो । तर यस बर्ष भने नगरपालिकाले प्रतिबन्ध खुलाएको छैन ।

यसअघि सुचना जारी गर्दै अर्को सुचना नआएसम्मका लागि नदीजन्य सामाग्री उत्खनन्मा लगाइएको प्रतिबन्ध कायम नै राख्ने नगरपालिकाले जनाएको थियो ।

तर व्यवसायीहरुले भने ३ महिनासम्म खोला बन्द हुदाँ पनि नगरपालिकाले किन आवयश्यक व्यवस्था मिलाएन ? भनि प्रश्न गरेका छन् । नगरपालिकाले तोकेको मापदण्ड, कर लगायतका प्रावधान पुरा गर्दै नदीजन्य सामाग्री निकाल्न दिनुपर्ने व्यसायीको भनाई छ ।

३ महिनासम्म बन्द रहेको नदीजन्य सामाग्री उत्खनन् कार्य अन्य क्षेत्रमा खुलिसकेको तर मेचीनगरमा अझै अनुमती नपाएको प्रती उनिहरुले आपत्ति जनाएका हुन् ।

व्यवसायीहरुको प्रदर्शनले आज नगरपालिका कार्यालय नै अस्तव्यस्त बनेको थियो । नगरपालिका प्रवेश गर्ने बाटोभरी ट्याक्टर राखिएकाले नगरपालिका जाने बाटो नै एकतर्फी भएको थियो ।

यता नगरपालिकाले भने नदीजन्य सामाग्रीमा लगाइएको बन्देज खुलाउन आवयश्यक तयारी भइरहेको जनाएको छ । व्यवसायीहरुसगँको छलफलमा बोल्दै मेचीनगर प्रमुख विमल आचार्यले ठेक्का मार्फत उत्खनन्को प्रक्रिया चलिरहेकाले नदीजन्य सामाग्री उत्खनन्लाई यसअघिका बर्ष भन्दा व्यवस्थित बनाउने प्रयास भइरहेको बताउनुभयो ।