धाइजन मंसिर २० । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक समारोहका बिच सामाजिक रुपमा उत्कृष्ट कार्य गर्ने तिन जनालाई सम्मान गरेको छ ।
आज मेचीनगर ११ को धाइजनमा आयोजित एक समारोहका बिच शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध न्यूरो सर्जन डा.गोपाल सेढाई, मेचीनगर ३ का प्रधान किसान र मेचीनगर ७ की ज्ञानु खड्कालाई सम्मान गरेका हो ।
प्रतिष्ठानले उत्कृष्ट कृषि पुरस्कारबाट मेचीनगर–३ का किसान र उत्कृष्ट गृहिणी पुरस्कारबाट खड्कालाई सम्मान गरेको हो । उनीहरुलाई जनही ३१ हजार नगदसहित सम्मान पत्रद्धारा सम्मान गरिएको हो ।
धाइजनस्थित प्रतिष्ठानको कार्यालय परिसरमा भएको पुरस्कार वितरण समारोहको प्रमुख अतिथि प्रदेश सांसद एकराजउनी कार्की थिए । प्रतिष्ठानको तेस्रो वार्षिक उत्सव तथा दोस्रो अधिवेशन समेत सोही अवसरमा आयोजना गरिएको थियो ।

उनले प्रतिष्ठानले स्थापनाकालदेखि नै समाजका उदाहरणीय प्रतिभाहरुलाई प्रोत्साहित गर्दै आएकोमा खुशी ब्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको सो कार्यक्रममा बागमती प्रदेशका निवर्त्तमान प्रदेश प्रमुख विष्णु प्रसाई, मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टंक बाराकोटी, पुरस्कृत प्रतिभा डा. गोपाल सेढाई, बलभद्र जनता माविका प्रअ तुलसी सुबेदी, पाउँ पाथिभरा मन्दिरका वरिष्ठ उपाध्यक्ष यामनाथ मिश्र, तेराख प्रतिष्ठानका जय भण्डारी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिष्ठानका सचिव मनोज बानियाँले स्वागत र उपाध्यक्ष डम्बर देउजाले सञ्चालन गरेको उक्त कार्यक्रमा प्रतिष्ठानको अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको कार्य समितिको नाम घोषणा गरेका थिए । अध्यक्ष हरिचरण बानियाँले सोही अवसरमा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको बारेमा जानकारी दिएका थिए ।
अधिवेशनले हरिचरण बानियाँ अध्यक्ष, मनोज बानियाँ उपाध्यक्ष र डम्बर बहादुर देउयजा सचिव रहेका नयाँ कार्य समिति चयन गरेको छ ।
सो कार्यक्रममा पुरस्कृत प्रतिभा डा. गोपाल सेढाइका पिता दाताराम सेढाई, प्रधान किसानकी छोरी पुष्पिता किसान र ज्ञानु खड्काका पति सोमराज खड्काको उपस्थिति रहेको थियो ।
झापाको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याउने तीन जना प्रतिभालाई हरेक वर्ष पुरस्कार दिने गरेको छ ।
दुई वर्ष अघि शिक्षासेवी हरिचरण बानियाँ र उनको दाजुभाईहरुको संयुक्त पहलमा स्वर्गवासी मातापिताको स्मृतिमा लाल भागिरथा बानियाँ प्रतिष्ठान स्थापना गरिएको थियो । संस्थाले समाजमा विशिष्ट योगदान पुर्याउनु भएका प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले रु. १० लाखको सुरुवाती अक्षय कोष खडा गरेको छ ।

