विविध

कतारको जेलमा रहेका राउतलाई नेपाल ल्याउन पहल गरिदिन परिवारको अपील

झापा । अनाहकमा श्रीमान कतारको जेलमा परेपछि आफ्नो परिवारको विचल्ली भएको भन्दै श्रीमती कुमारी राउतले श्रीमानलाई नेपाल ल्याउन पहल गरिदिन अपील गरेकी छिन् ।

आफ्नै साथीको हत्या आरोपमा कुमारीका श्रीमान कनकाई नगरपालिका–४ त्रिवेणी टोलका ३० वर्षीय सुुवास राउत बिवगत एक वर्षदेखि कतारको जेलमा बसिरहेका छन् । उनी गत वर्ष मंसिरमा आफ्नै कोठामा बस्ने साथीको हत्या गरेको आरोपमा जेल परेका हुन् । राउतमाथि आफ्नै कोठामा बस्ने खोटाङ्ग ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या गरेको आरोप छ ।

साथीको हत्या गरेको आरोपमा परिवारको मुली कतारी जेलमा परेपछि यतिबेला राउत परिवारको विचल्नी भएको छ । सामान्य परिवारका राउत परिवार श्रीमान जेलमा परेपछि श्रीमतीले भने ज्यामी काम गरेर आफ्ना साना दुई छोराछोरी र ससुरा पाल्दै आएकी छिन् ।

आर्थिक अवस्था कमजोर हरेका उनीहरु कमाउने व्यक्ति नै विदेशी जेलमा परेपछि ठूलो संकट झेल्न विवश छन् । सुवासकी श्रीमती कुमारीले गहभरी आशु पार्दै आफ्नो श्रीमान् निर्दोस रहेको बताउछिन् । श्रीमानले आफूलाई ड्यूटी सकेर कोठामा आउदा साथीमाथि अरुलेनै छुरा प्रहार गरेर घाइते बनाएर भागेको र साथी बाँच्छ कि भनेर आफूले रगत बग्न नदिनका लागि घरेलु उपाय अपनाएर पट्टी बाँध्नको साथै हो–हल्ला गरेर अरुलाई बोलाउदा उल्टै प्रहरीले समातेर लगेको बताएको जनाएकी छिन् ।

हत्या आरोपी राउत र हत्या हुने राईबीच राम्रो सम्बन्ध भएको र दुवैको घरमा पनि पालैपालो फोन गरिरहने भएकोले यतिको मिल्ने साथीले एक–अर्काको हत्या गर्न नसक्ने दुवै परिवारको विश्वास पनि रहेको छ । तर फिंगर पिन्टका कारण राउत कतारी जेलमा बस्नुपरेको स्थानीय जानकार युगल दवाडी बताउछन् ।

गाउँघरका मानिस नियम कानून नजानेको र आफ्नै कोठाको साथीलाई बचाउन हरसम्भव प्रयास गर्दा अहिले आएर फिंगर प्रिन्टका आधारमा कतारी जेलमा बस्न बाध्य भएको सुवासका बुबा बताउछन् । उनले भने आफ्नो छोरा पहिलादेखि नै त्यस्तो झै–झगडाबाट टाडै रहने भएका कारण पनि मानिसको हत्या जस्तो कुरा गर्न नसक्ने बताउछन् ।

हाल कतारको अदालतले राउतलाई कम्तीमा ३ वर्ष जेल सजाय र त्यसपछि २ लाख ५० हजार कतारी रियाल करिब ९० लाख नेपाली रुपैँया ब्लड मनी तोकिदिएको छ । सो बुझाउन नसके आजीवन सजाय वा फासी कुर्नुको विकल्प नरहेको कनकाई नगरपालिकाका जनप्रतिनिधि बताउछन् ।

त्यस्तै स्थानीय र जनप्रतिनिधिसहितको टोली मृतक राईको घरमा गएर बुझ्दा दुवैजना मिल्ने साथी भएको राई परिवारले जनाएको कनकाई–४ का जनप्रतिनिधि रोषन सुवेदीले बताए । तर, राई परिवारको अवस्था कमजोर रहेको र १५ लाखसम्म क्षतिपूर्ति बुझाएमा सरकारको रोहवरमा राउतलाई नेपाल झिकाउने सहमति भएको तर, राउत परिवारसँग सो रकम बुझाउने सामथ्र्य नभएको सुवेदी बताउँछन् ।