झापा । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि हुने भएको छ ।
अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको बहुप्रतिक्षित प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन गर्ने तयारी गरिएको हो ।
गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजनाबारे जानकारी दिएको छ ।
काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबलको हबको रुपमा विकास गराउन झापा गोल्डकप आयोजना गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा झापा ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशी एक गरी १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुङ्गो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिनुभयो ।
झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने समितिका कोषाध्यक्ष केदार गिरीले बताउनु भयो ।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन् ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

