बाहुण्डाँगी । बिरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले बिरगञ्जको गरिमा र प्रतिष्ठासँग जोडिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन सफल बनाउने अबको मुख्य लक्ष्य रहेको बताउनु भएको छ ।
बिरगञ्ज जेसीजको ४९ औँ पहहस्तान्तरण तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर सरावगीले नेपाल जेसीजले २०२२ मा बिरगञ्ज जेसीजको आतिथ्यतामा हुन लागेको महाधिवेशनलाई सब्य र भब्य रुपमा सफल बनाउन अब सिंगो नगरपालिका एक भएर तयारीमा लाग्नु पर्ने बताउनु भएको हो ।

‘यो महाधिवेशन यस नगरको प्रतिष्ठाको विषय बनेको छ’– मेयर सरावगीले भन्नु भयो–‘युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि क्रियाशिल यो संस्थाले गर्न लागेको राष्टिय महाधिवेशनमा यहाँ सहभागि हुन आउने हरेक अतिथिले यहाँको गरिमा र हामीले गर्ने व्यवहारबाट प्रभावित बनाएर पठाउने अभियानमा जुट्न सबै तयार बनौ । नगरपालिका सहकार्य गरेर एक वर्षभरी तपाईहरुसँगै रहनेछ ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मेयर सरावगीले जेसीजले सामाजिक रुपमा गरेको कामप्रति आफु सधै प्रभावित भएको बताउँदै हरेक युवाहरुलाई यस अभियानमा लाग्न आग्रह समेत गर्नु भयो ।

सोही समारोहमा २०२२ का अध्यक्ष अमृत गौरोलाई २०२१ का अध्यक्ष जेसीआई सिनेटर रञ्जन रावतले आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै पदभार जिम्मा लगाउनु भएको थियो । आफ्नो विदाइ मन्तव्यमा निवर्तमान बन्दै लाग्नु भएका रावतले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरेको र यसका लागि बोर्डका साथीहरुको सहयोग कहिले नबिर्सने बताउँदै अब सबैको सहकार्यमा महाधिवेशन सफल बनाउन लागि पर्ने बताउनु भयो ।

यस अघि भएको साधारणसभाबाट अध्यक्षमा गौरोसहित कार्यकारीणी उपाध्यक्ष सुखसागर गौरो, स्वेयर रौनियार, उपाध्यक्षहरुमा अणु चौधरी, टपेन्द्र चौधरी, कनरुल अंसारी, सरोज चौरसिया निर्वाचित भएका थिए भने नवनिर्वाचित अध्यक्ष गौरोले महासचिवमा अरबिन्द्र श्रेष्ठ, कोषाध्यक्षमा मुकेश गुप्ता र कानुनी सल्लाहकारमा प्रेमचन्द्र प्रसादलाई मनोनित गर्नु भएको थियो ।
सोही समारोहमा विभिन्न विधाका सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो । जसमा तारा अवार्डबाट निश्चलनाथ श्रेष्ठ (तेक्वान्दो खेलाडी), उत्कृष्ट सदस्य अवार्ड अरबिन्द्र श्रेष्ठ, यस क्षेत्रका ११ वटा विद्यालयका विद्यार्थीलाई ११ हजार बराबरको छात्रवृत्ति वितरण गरिएको थियो भने २०२१ का अध्यक्ष सिनेटर रावतले आफ्नी स्वग्रीय आमा प्रेमशिला देवीको नाममा अक्षयकोष स्थापना गर्नु भएको थियो । सो पुरस्कार हरेक वर्ष पदहस्तान्रण समारोहमा वितरण गरिने बताउनु ।

२०२१ का अध्यक्ष सिनेटर रावतको असभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका पूर्व अध्यक्ष, शाखाका पूर्व अध्यक्ष प्रो.डा. जेसीआई सिनेटर दिपक शाक्य, विरगञ्ज महानगरपालिकाका उपमेयर ममता चौधरी, बिरगञ्ज जेसीजका पूर्व अध्यक्ष तथा २०२२ को राष्टिय महाधिवेशनका निर्देशक गोपाल केडिया, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सुनिल तिम्सिना, बिरगञ्ज जेसीजका संस्थापक अध्यक्ष सिनेटर पशुपति विक्रम शाह, निरुपित राष्टिय उपाध्यक्ष सिनेटर नरेशचन्द्र ओझालगायतले २०२२ को नेतृत्व बिरगञ्ज जेसीजका लागि महत्वपूर्ण वर्ष रहने बताउँदै सबै ध्यान महाधिवेशनमा लगाएर अघि बढ्नका लागि शुभकामना दिनु भएको थियो ।
कार्यक्रम संयोजक त्रिलोकनाथ साहले स्वागत गरेको कार्यक्रमको सञ्चालन अरबिन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

