समाचार

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका ३मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हुम्सेदुम्से सामुदायिक बनबाट मंगलबार राती साढे ९ बजे आएको जंगली हात्तीले आक्रमण गर्दा रनधौज चोकका ६३ वर्षिया गणेशप्रसाद अधिकारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकका अनुसार कुलोमा पानी लगाउन जाने क्रममा हात्तीले लछारपछार गर्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएको छ । अहिले हात्ती जंगलतर्फ नै गएको छ भने शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको पाठकले बताए ।