काठमाडौं । बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । १९ सदस्य चयनका लागि हुने निर्वाचनको सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।
शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको हो । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगको भनाइ छ ।
आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली काङ्ग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुने भएको हो ।
चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सङ्ग सहकार्य गरेर चुनावमा उत्रिएपनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ ।

