समाचार

प्रदेश १ मा आज मन्त्रीपरिषद बिस्तार हुँदै, झापाका दुईजना मन्त्री बन्ने पक्का

झापा । प्रदेश १ को आइतबार (आज) हुने मन्त्रीपरिषद बिस्तारमा झापाबाट दुईजना मन्त्रीले सपथ लिने पक्का भएको छ ।

नेपाली काङ्ग्रेसका सांसद ओमप्रकास सरावगीले उद्योग, श्रम तथा रोजगार मन्त्री र नेकपा माओवादी केन्द्रका सांसद झलकबाहादुर दर्लामी मगरले कृषि मन्त्रीको सपथ लिने पक्का भएको हो ।

झापाबाट प्रदेश १ मा सरावगी काङ्ग्रेसका एक्ला सांसद हुन् । नेता कृष्ण सिटौला निकट सरावगी समानुपातिक सांसद हुन् । उनी नेता सिटौलाको कोटाबाट मन्त्री बन्न लागेका हुन् । सरावगी प्रदेश १ का जेष्ठ सदस्य समेत हुन् । झापाबाट माओवादी केन्द्रका दुई जना सांसद छन् ।

कृषि मन्त्री बन्न लागेका मगर क्षेत्र नम्बर ४ प्रदेश (क) का सांसद हुन् । माओवादी केन्द्रका अर्का सांसद पूर्णसिंह राजवंशी हुन् । प्रदेश १ को नामाकरण जातीय पहिचानका आधारमा हुनु पर्ने अडान राखेका कारण राजवंशी मन्त्री बन्नबाट चुकेकेको स्रोतको भनाइ छ। एक साता अघि प्रदेश १ का सात मन्त्रालय विभाजन गरी १२ वटा बनाइएपछि मन्त्रीमण्डल बिस्तार हुन लागेको हो ।

आज बिहान ११ बजे मन्त्रीहरूले शपथ लिने कार्यक्रम छ । प्रदेश १ मा अहिले मुख्यमन्त्री राजेन्द्र राईसहित छ मन्त्री छन् । अर्थमन्त्री इन्द्रबहादुर आङ्बो, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की , भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की , सामाजिक विकास मन्त्री जयराम यादव र विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री छन् । ६ सदस्यीय मन्त्रिमण्डलमा काङ्ग्रेसका केदार र हिमाल दुई मन्त्री छन् ।

माओवादी केन्द्रका इन्द्र, जनता समाजवादीका पार्टीका जयराम र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु राज्यमन्त्री हुन् । आज सात जनाले मन्त्रीले शपथ लिने छन् । प्रदेश १ मा आज माओवादी केन्द्रका दुई, काङ्ग्रेसका दुई र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का तीन जनाले मन्त्रीको शपथ लिने छन् ।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बनेका हुन्। प्रदेश १ मा छ दलीय गठबन्धन छ। यसअघि नै मन्त्रीपरिषद बिस्तार गर्ने योजनामा गठबन्धन दल थिए ।

तर, काङ्ग्रेस र माओवादी केन्द्रको अधिवेशन र आन्तरिक चुनाव तथा राष्ट्रियसभा निर्वाचन आचार संहितका कारण मन्त्रीमण्डल बिस्तार हुन सकेको थिएन ।