खेलकुद

एपीएफमाथि इलामको शानदार जित

इलाम । इलामको मंगलबारेमा शनिबारदेखि सुरु प्रथम देउमाई गोल्डकप फुटबल प्रतियोगितामा इलामको ओएसिस क्लबले विजयी सुरुवात गरेको छ ।

भानुभक्त माविको छात्रावास खेलमैदानमा आयोजित उद्घाटन खेलमा इलामले एपीएफ सुनसरीको टिमलाई २-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

इलामका लागि मोहन टुडुले दोस्रो हाफको १९औँ मिनेटमा खेलकै पहिलो गोल गर्न सफल भएका थिए । त्यस्तै, इलामकै सन्तोष रम्तेलले खेलको ३१औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाएका थिए ।

युनाइटेड देउमाई युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी छन् । भोलि (आइतबार) नेपाल आर्मीको पशुपति गण र भेनस फिक्कल एफसी इलामबीच खेल हुनेछ ।

फागुन १४ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख पाउनेछ भने उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।