झापा । काँधमा हलो र जुवा बोकेर कैलाली गौरिगंगाका देवराज उपाध्याय महाकालीबाट २८औं दिनमा पूर्वी नाका काँकरभिट्टा आईपुगेका छन् ।
भ्रष्टाचार, एमसिसी सम्झौता र आसन्न स्थानीय निर्वाचनको विषयलाई समेट्दै गौरिगंगा गाउँपालिका वडा नम्बर ४ का ३६ बर्षिय उपाध्यायले चैत १ गते महाकालीबाट सुरु गरेका आफ्नो पैदल यात्रा आज पूर्वी नाका काँकरभिट्टामा आएर समापन गरेका हुन् ।

नेताहरूले युवालाई गोरु बनाएर विदेशमा बेचेको र कृषि प्रधान देशमा किसानहरुको मर्का नबुझेको भन्दै उनले काँधमा हलो र जुवा सहित राष्ट्रिय झन्डा बोकेर अभियान स्वरुप पश्चिमबाट पुर्वको यात्रा थालेका थिए ।
कैलालीकै एक होटलमा मजदुरी गर्ने उपाध्यायले देश दुखेको हेर्न नसकेर र नेताहरूले एमसिसी जस्तो राष्ट्रघाती सम्झौता पारित गरेका कारण आफुले देशभक्त माझ सन्देश दिन यो यात्रा शुरु गरेको बताए । आफ्नो यात्रा समापन गर्दै उनले सत्ता सञ्चालकहरुले देशलाई कंगाल पारेको भन्दै आसन्न निर्वाचनमा जनताको समस्या समाधान गर्ने देशभक्त युवाहरुलाई निर्वाचित गराउन समेत सबैमाझ अपिल गरेका छन् ।
उपाध्यायलाई काँकरभिट्टामा स्वागत गर्दै युवा समाजसेवी बालकृष्ण थापा, सञ्चारकर्मीलगायतको टोलीले खदा र माला लगाएर सम्मान गरेको थियोे । समापन कार्यक्रममा जिल्लाका सञ्चारकर्मी ,प्रहरी , स्थानीय र बुद्धिजीवीहरुको उपस्थिति रहेको थियोे ।

