राजनीति

एमाले उम्मेदवार बुढाथोकीको जित्ने बलियो सम्भावना

मेचीनगर । स्थानीय तहको निर्वाचन वैशाख ३० संघारमा आइसकेको छ । देशभरका ७ सय ५३ स्थानीय तहमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जानकारी गराएको छ । यसै सन्दर्भमा मेचीनगर नगरपालिकामा चुनावी माहोलले तीव्रता पाइरहेको छ ।

मेचीनगरमा नगरप्रमुख पदका लागि एमाले, राप्रपा एक्लाएक्लै मैदानमा उत्रिएका छन् भने गठबन्धन बनाएर नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका उम्मेदवार मैदानमा छन् ।

जनताको लोकप्रिय मत ल्याई यसअघि प्रदेश सांसदमा विजयी भएका गोपालचन्द्र बुढाथोकी एमालेबाट मेयरको प्रत्यासी उम्मेदवार बनेका छन् । कांग्रेस गठबन्धनबाट नेपाली काँग्रेसका क्षेत्रीय सभापति ईन्द्र बहादुर बुढाथोकी र राप्रपाबाट प्रदेश कमिटी सदस्य रमेश दाहाल प्रतिस्पर्धामा छन् ।

तीनैजना प्रतिस्पर्धीमध्ये एमालेका उम्मेदवार बुढाथोकीको जितको बलियो सम्भावना रहेको जानकारहरु बताउँछन् ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको आन्तरिक टसलले मेयरको टिकट वितरणमा समस्या उत्पन्न भएसंगै अहिलेको निर्वाचनमा गठबन्धन प्रति मतदाता निराश बनिरहेका छन् भने एमालेको पक्षमा ठूलो जनमत देखिन्छ । यसले पनि एमाले मेचीनगरमा दह्रो हुने सम्भावना देखिन्छ ।

नेपालको पूर्वी सिमानासंग जोडिएको मेचिनगर पर्यटकीय हिसाबले पूर्वकै नमुना पालिका हुन सक्ने र विकासको प्रचुर सम्भावना बोकेको पालिकाभित्र पर्दछ । योजना र लक्ष्यसहितको विकासको मोडेल लागू गर्न सक्ने नेताको खाँचो परेको मेचीनगरका वासिन्दाहरुको भनाइ छ । र उक्त कार्यका लागि नगरपालिका हाँक्ने क्षमता बनाएका एमाले नेता बुढाथोकी नै उपयुक्त रहेको उनीहरूको भनाइ छ ।