झापा । गौतम समाज झापाले २०२८ सालको किसान बिद्रोहमा झापा ज्यामिरगडीमा पहिलो शिकार बनाइएका कर्णबहादुर गौतमको राज्यले अहिलेसम्म उपेक्षा गरेको बताएका छन् । गौतम समाज झापाले सोमबार प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल समक्ष ज्ञापनपत्रबुझाउँदै स्व.कर्णबहादुरको बिषयमा राज्य गम्भिर बन्नुपर्ने बताएका छन् ।

किसान आन्दोलनमा हत्या भएका गौतम बन्धुलाई उचित सम्बोधन गरिनुपर्ने पिडित परिवारलाई उचित क्षतिपूर्ती राज्यको तर्फबाट यथाशिघ्र उपलब्ध गराउनुपर्ने भन्दै स्व .कर्णबहादुरलाई उचित सम्बेधन गरी पिडित परिवारलाई न्याय दिन प्रजिअ समक्ष ज्ञापनपत्र बुझाइएको गौतम समाज झापाका प्रवक्ता राजेन्द्रप्रसाद गौतमले जानकारी दिए ।
ज्ञापनपत्रमा २०२८ सालको किसान बिद्रोहमा झापा ज्यामिरगडीमा पहिलो शिकार बनाइएका बन्धु कर्णबहादुर गौतमको हत्या देख्ने र सुन्ने स्थानीयबाट मेचीनगर वडा नम्बर १५ ले गरेको सर्जमिन,विभिन्न स्वतन्त्र लेखकहरुका पुस्तकका कटिङ्स सहित कर्णबहादुरलाई उचित सम्बोधन र उनको परिवारलाई उचित राहत दिइयोस् भन्ने आशय रहेको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले घटनाबारे अन्य प्रमाण संकलन गरेर उचित कार्यवाहीका लागि आवश्यक पर्ने सिफारिस सहित गृहमन्त्रालयमा पठाउने जनाए । उनले यो घटना सत्य रहेको र नागरिकलाई परेका यस्ता घटनामा सरकारले चासो दिइरहेको समेत बताए ।
ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा गौतम समाज झापाका नेतृत्व नीति रमण गौतम, भागवत गौतम, उर्मिला गौतम, सोमनाथ गौतम, बिष्णुप्रसाद गौतम, राजेन्द्रप्रसाद गौतम, हरि गौतम (केन्द्र), शंकर गौतम, जयनारायण गौतम, महानन्द गौतम, युवराज गौतम, धर्मेन्द्र गौतम, सल्लाहकारद्वय हरिप्रसाद गौतम (देउनिय), मित्रप्रसाद गौतम (इलाम) तथा पिडित परिवारबाट ललित गौतम, धनमाया गौतम, गीता गौतम, इन्दिरा गौतमसमेतको उपस्थिति रहेको थियो ।

