झापा । झापामा दुई छुट्टाछुट्टै दुर्घटनामा परी बालकसहित दुई जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिकामा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ४ बजे बुद्धशान्ति ५ शान्तिनगर गैरिगाँउस्थित खेतमा प्र १–०१–००१ त ९३२५ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा अचानक पल्टिएर दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २६ वर्षीय विकास कुमालको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक ३४ वर्षीय चन्द्रबहादुर कुमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै शुक्रबार साँझ ५ ३० बजे भद्रपुर नगरपालिका ३ बस्ने सितु सापकोटाका छोरा ११वर्षीय ईश्वर सापकोटाको देउनियाँ खोलामा डुबेर मृत्यु भएको छ । नुहाउन जाँदा खोलामा डुबी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय पृथ्बीनगरबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजतलास गर्ने क्रममा खोलाको किनारमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

