शिक्षा

बाहुण्डाँगीका राजेन्द्र थापा अमेरिकाबाट विद्यावारिधि

बाहुण्डाँगी । बाहुण्डाँगीको सामान्य परिवारमा जन्मेका राजेन्द्र थापाले अमेरिकाको ओहाइयो युनिभरसिटीबाट विद्यावारिधि गरेका छन् । ५ वर्ष अघि त्रिभूवन युनिभरसिटीबाट छात्राबृत्ति प्राप्त गरि अध्ययन गर्न अमेरिका गएका थापाले विज्ञान विषयको फिजिक्स विषयमा विद्याबारिधि गरेका हुन् । २०४७ साल भदौ २७ गते बुबा रमेश थापा र आमा रुकमणी थापाको जेष्ठ सुपुत्रका रुपमा जन्मिएका थापा सानैदेखि पढाइमा अब्बल रहँदै आएका थिए ।

ग्रीनभ्याली एकाडेमी इलाममा स्कुल तहको अध्ययन गरेका थापाले २०६२ सालमा सोही विद्यालयबाट एसएलसीमा जिल्ला प्रथम गरेका थिए । जिल्ला प्रथम गर्ने उनी बाहुण्डाँगीका पहिलो व्यक्ति समेत बनेका थिए । कक्षा ११ र १२ लिटल फ्ल्वार्स विर्तामोडबाट उत्रिर्ण गरेका उनले काठमाडौं गएर त्रिभूवन युनिभरसिटी कलेजमा अध्ययन गरे ।

थापाले सोही कलेजबाट छात्राबृत्ति प्राप्त गरेका थिए । बाहुण्डाँगीमा सामान्य व्यापार व्यवसाय गरेर छोरालाई उच्च शिक्षा दिएका थापा परिवारले आज प्राप्त गरेको सफलतामा सिंगो बाहुण्डाँगी बजारमा खुसी छाएको छ । उनका भाइ राजेश थापाले बुबाले देखेको सपना पुरा भएको भन्दै आफ्नो फेसबुकमा खुसी व्यक्त गरेका छन् । ‘बुबाको सपना त पुरा भयो’ भाई राजेश थापाले भने – ‘तर, त्यो खुसी सहितको सपना बुबाले देख्न पाउनु भएन । आज बुबा भएको भए कति खुसी हुनुहुन्थ्यो होला ।’


मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले डाक्टर थापालाई बधाई दिँदै मेचीनगर ४ का लागि गौरबको कुरा भएको बताउनु भयो । उहाँले थापा सानैदेखि अन्त्यन्तै अध्ययनशिल रहेको र त्यसैको परिणाम आज प्राप्त भएको बताउनु भयो । डाक्टर राजेन्द्र थापा परिवारसहित अमेरिका अमेरिका बस्दै आउनु भएको छ । उनका एक श्रीमती र एक छोरा छन् ।