संघ \संस्था

नारायणगढ जेसीजको जेसीज गाउँका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

बाहुण्डाँगी । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित जेसीज गाउँका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

नारायणगढ जेसीजले ‘जेसीज सप्ताह २०२२’ को अवसरमा बिहीबार पुस्तक तथा अन्य शैक्षिक सामाग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको रोहबरमा जेसीज गाउँमा रहेका १४ घरधुरीका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

जेसीज गाउँका बालबालिकाको अध्ययनमा सहयोगका लागि शैक्षिक सामाग्री वितरण गरिएको मूल संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए । गाउँपालिका अध्यक्ष गुरुङले लामो समयदेखिको निरन्तरको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

२०७२ सालमा निर्मित जेसीज गाउँमा नारायणगढ जेसीजले हरेक वर्ष सहयोग गर्दै आएको छ । सहयोगलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने नारायणगढ जेसीजका अध्यक्ष अमृत श्रेष्ठले प्रतिवद्धता जनाए ।

सहयोग कार्यक्रममा वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, समाजसेवी कर्णबहादुर गुरुङ, नारायणगढ जेसीजका पूर्वाध्यक्ष नवराज फुयाँल, प्रकाश पौडेल, आइपिपी बासुदेव दवाडी, जेसीजका पदाधिकारीलगयात उपस्थित थिए ।

जेसीज सप्ताहको अवसरमा नारायणगढ जेसीजले साताव्यापी कार्यक्रम गरिरहेको छ । जस अन्तर्गत २४ गते उद्घाटन तथा चेतना जागरण कार्यक्रम र २५ गते वक्तृत्वकला प्रतियोगिता सम्पन्न भइसकेको छ ।

२७ गते पत्रकार र जेसीजबीच मैत्रीपूर्ण फुटसल, २८ गते बैंकिङ तथा कर सम्बन्धी तालिम र २९ गते मानव सेवा आश्रममा वृद्धवृद्धालाई खान खुवाउने कार्यक्रम रहेको मूल संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए । ३० गते ट्राफिक सचेतना कार्यक्रमसँगै जेसीज सप्ताह समापन हुने श्रेष्ठले बताए ।