संघ \संस्था

कृष्णथुम्की महोत्सवमा भदौ २ गते रचना रिमाल आउने

बाहुण्डाँगी । झापाको बाहुणडाँगी स्थित कृष्णथुम्कीमा श्रीकृष्ण जन्माष्टमीको अबसरमा लाग्ने पाँचदिने महोत्सवमा चर्चित गायिका रचना रिमाल आउने भएकी छिन् । श्रीकृष्ण थुम्की विकास समितिको आयोजनामा साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आयोजना हुने महोत्सवको चौथो दिन गायिका रिमालको प्रस्तुती रहने आयोजक समितिका अध्यक्ष हिम्मत खड्काले जानकारी दिए।

महोत्सवमा रिमालसहित अन्य चर्चित तथा स्थानीय कलाकारको प्रस्तुती रहने उहाँले बताउनु भयो । धार्मिक तथा पर्यटकीय स्थल कृष्णथुम्कीको विकास र प्रवर्द्धन गर्नका निमित्त महोत्सव आयोजना गरिएको जानकारी दिएको छ।

उक्त महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा विभिन्न जातजातिका झाँकीहरु समेत प्रस्तुत गरिने महोत्सव आयोजक समितिले जानकारी दिएको छ। महोत्सवमा विभित्र खेलहरु हुने तथा ३० वटा स्टल राखिने छन्, भने मद्यपान पुर्णरुपमा निषेध गरिएको छ। बोलबम तथा कृष्ण जन्माष्टमी महोत्सवले उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु लाई आकर्षित गर्ने र यसले ग्रामिण क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने आयोजक समितिका सदस्य तथा बाहुण्डाँगी जेसीजका अध्यक्ष समेत रहनु भएका हेमन्त मोक्तानले बताउनु भयो ।
द्वापर युगमा भगवान श्रीकृष्णले यस स्थानमा गाई चराएको हुनाले यस स्थानको नाम कृष्ण थुम्की रहन गएको किम्बदन्ती छ। झापा जिल्लाको सुदुर उत्तर–पूर्व मेचिनगर नगरपालिका वडा नम्बर (१ बाहुनडाँगीमा मेची नदी र सिद्धी नदीको संगममा रहेको कृष्णथुम्की धार्मिक एवं ऐतिहासीक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको छ। वरिपरि समथर जमीन रहेको स्थानमा भरेको पाथी जस्तो चुलिएर बसेको कृष्णथुम्कीलाई द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको ठाउँ भएको विश्वास गर्ने गरिन्छ।

कृष्णथुम्कीमा एउटा चेप्टो ढुङ्गामा मानव र गाईको पद चिन्ह अङ्कित छ। कांकरभिट्टाबाट १३ कि।मी। उत्तरमा अवस्थित कृष्णथुम्कीमा, कृष्णथुम्की र अन्य ५ वटा थुम्की समेत जम्मा ६ वटा थुम्कीहरू रहेका छन्। यहाँ रहेको कृष्णथुम्कीवाहेक अन्य ५ वटा थुम्कीहरूलाई पाँच पाण्डवको प्रतिकको रूपमा लिने गरिएको पाइन्छ।