मेचीनगर । पूर्वको प्रशिद्ध धार्मिक एवम् पर्यटकीयस्थल श्री कृष्णथुम्की धाममा आजदेखि पाँच दिवशिय कृष्णथुम्की बोलबम तथा जन्मष्टमी महोत्सव सुरू भएको छ ।

सोमबारबाट सुरू भएको महोत्सवको उद्घाटन प्रदेश साँसद श्रीप्रसाद मैनालीले गरेका छन् । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका साँसद मैनालीले धर्म संस्कृतिले मानिसलाई अनुशासीत बनाउने बताए । बहुभाषा धर्म र सस्कृतीले धनी देश नेपालमा सबैको छुट्टाछुट्टै महत्व रहेको बताउँदै त्यसलाई संरक्षण गर्न सबै आआफ्नो क्षेत्रबाट लागि पर्नुपर्ने बताए । साथै बिगतदेखि नै प्रदेश सरकारको तर्फबाट आफुले यस क्षेत्रमा रकम विनियोजित गर्दै आइरहेको अवगत गराउदै चालु आर्थिक बर्षमा पनि २० लाख रमक प्रदेश सरकारको तर्फबाट विनियोजित गरेको बताए ।
मेचीनगर १ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल कृष्णथुम्कीको विकास र प्रवर्द्धन गर्नका निमित्त महोत्सव आयोजना गरिएको आयोजक समितिका अध्यक्ष हिम्मत खड्काले जानकारी दिए।

महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार गायक डम्बर नेपाली, गायिका रचना रिमाल, हास्यकलाकार राजा राजेन्द्र पोखरेललगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिले जानकारी दिएको छ। विभिन्न जातजातिका झाँकीहरु समेत प्रस्तुत गरिने महोत्सवमा विभित्र खेलहरु हुने तथा ३० वटा स्टल राखिएको छ । महोत्सवमा मद्यपान पुर्णरुपमा निषेध गरिएको छ।
बोलबम तथा कृष्ण जन्माष्टमी महोत्सवले उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने र यसले ग्रामिण क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्य रहेको आयोजकले जनाएको छ।


