विचार

“धान्न नसकिने बन्दै नेपाली संस्कृति”

रूबिना बिष्ट
काठमाडौं ।
संस्कृति एउटा भुगोलको चिनारी हो । पहिचान हो। जसको सम्रगताले त्यहाको परम्परा, संस्कार मूल्य मान्यता तथा चालचलनलाई समेटेको हुन्छ । नेपाल विश्वमै संस्कृतिको धनी मुलुक हो।

यहा विभिन्न धर्म, भाषा र सम्प्रदायका मानिसहरू बसोबास गर्दछन। जसले विविधतामा एकता नेपाली संस्कृतिको विशेषतालाई आत्मसात गरेको छ। तर पछिल्लो केही समय देखि नेपाली परम्परा र मूल्य मान्यताहरूमा बाहिरी संस्कृतिको बढ्दो प्रभावले नेपाली संस्कृतिमा विकृति बढेको देखिन्छ । परम्परादेखि चलिआएका रीतिरिवाज, चालचलन , संस्कार तथा संस्कृतिलाई दिनँहु हामी आफैले धान्न नसकिने स्वरूपमा ढालिहरेका छौ।

स्वदेशी संस्कृति भन्दा पनि विदेशी संस्कृतिको अत्याधिक अनुशरणलाई प्राथमिकतामा राख्ने होडबाजीले नेपाली मौलिकपना धरासायी बन्दै गइरहेको छ। नेपाली संस्कृतिमा देखिएको विकृतिले हुँदा खाने र हुनेखानेहरू बीचको खाडललाई झनै बढाएर लगेको छ। समाजमा सामाजिक अस्तित्व कायम राख्नकै लागि भए पनि देखावटी प्रवृत्ति हाबी हुँदै गइरहेको छ। समाजले नस्वीकार्लाकी भन्ने डरले समान स्तर सुनिश्चित गर्नकै लागि नेपाली परम्परा तथा संस्कृतिमा धमिरा लाग्न थालेको छ।

हाल नेपाली संस्कृति परम्परा बचाउन, जोगाउन भन्दा पनि इज्जत जोगाउन प्रदर्शनमुखी जीवनशैली अपनाएको देखिन्छ। आदर्श समाजको प्रतिष्ठाको विषय संस्कार, कुसंस्कारमा रूपान्तरित हुन पुग्दा समाजमा बिभिन्न खाले अप्रिय घटनाहरू निम्तिएका छन। समाजिक सञ्जालको बढ्दो प्रयोगसँगै प्रतिस्पर्धा र देखावटीपनले अनावश्यक विलासिताका बस्तुलाई अत्याधिक प्रशय दिएको देखिन्छ । विलासिताका वस्तुको बढ्दो आयातले वैदेशिक मुद्रा सञ्चितिमा प्रतिकुल प्रभाव पार्नुका साथै बढ्दो व्यापार घाटा र वैदेशिक ऋणलाई चरम बिन्दुमा धकेलिरहेको छ। हाम्रा परम्परागत शैलीहरूमा देखिएको परिवर्तनले परापूर्वकालदेखि मानाउदै आएको चाडपर्व तथा रीतिरिवाजमा भड्किलोपन व्याप्त हुदैगइहेको छ। आजको परिपेक्ष्यमा चाडपर्व आउनु सम्रान्त वर्गका लागि प्रदर्शनको अवसर र निमुखा वर्गका लागि विपत जस्तै सावित भएको छ । भर्खरै मनाइएका दुइ पर्वहरू जनैपुर्णीमा र कृष्णजन्माष्टमीमा देखिएको भड्किलोपनले संस्कृति जोगाउने बाहानामा विकृति फैलिएको आभाष दिलाएको छ।

आयतित विलासिताका वस्तुहरूले क्षणिक मनोरञ्जन दिए पनि त्यसको प्रभाव नेपाली संस्कार र परम्परामा परिरहेको हामीले महसुस नै गरेका छैनौ। त्यति मात्र होइन नेपाली पर्वहरू हिजो भन्दा आज, आज भन्दा भोली झनै महँगीदै गएका छन्।निम्न तथा मध्यम वर्गीय आय भएका नेपालीहरूले यो मेरो पनि पर्व हो भनेर ढुक्कका साथ सौहार्दपूर्ण तवरले मनाउन पाउने सामाजिक वातावरण विलिन हुदैगईरहेको छ। नजिकिदै गरेको नेपाली नारीहरूको महान् चाड हरितालिका तीज आउनु भन्दा अघि देखि देखिएको अस्वाभाविक तडकभडकले हाम्रा पर्वहरू दुषित बन्दै गएको भान हुन्छ। विदेशी संस्कृतिले नेपाली मौलिक पहिचानमाथि आतंक मच्चाइरहदा भविष्यमा नेपाली परम्परा तथा संस्कृतिको पुस्तान्तरणमा अवरोध सिर्जना नहोला भन्न सकिन्न ।

राष्ट्रिय पहिचान कायम गर्ने कडीका रूपमा सुसज्जित संस्कृतिलाई लज्जित हुन बाट बचाउँन हामी सबैको भुमिका उत्तिकै रहनु पर्दछ । यसर्थ अब पनि हामीले आफ्नो अवस्था र व्यवस्थालाई नजरअन्दाज गर्यौभने नेपाली मौलिक संस्कृति लोप हुने बाटोमा टाढा देखिन्न। त्यसैले आयातित विलासिताका वस्तुलाई निरूत्साहित गर्दै मौलिकता झल्कने नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सबैको पहल जरूरी देखिन्छ । भावीपुस्तामा सम्पत्ति होइन, असल संस्कृति र संस्कारको हस्तान्तरण हुनु आजको मुल आवश्यकता रहेको छ। वर्तमान युवापुस्ता शैक्षिक योग्यताको बाटोमा अब्बल बनिरहँदा संस्कृतिको पाटोमा चुक्नु हँुदैन । जसका लागि व्यक्ति, परिवार, समाज,राज्य र निजी क्षेत्रको समयमै ध्यानाकर्षण हुनु आजको अपरिहार्यता हो।