संघ \संस्था

बाहुण्डाँगीमा हात्ती आउँदा अब साइरन बज्ने

बाहुण्डाँगी । सीमावर्ती देहात बाहुनडाँगीमा वर्षौंदेखि हात्ती आतंक छ । भौतिक या मानवीय क्षति भएपछि मात्रै ‘मेची तरेर हात्ती छिरेछ’ भन्ने स्थानीयले थाहा पाउँथे । अब साइरनको मद्दतबाट स्थानीयले हात्ती आएको खबर तत्काल पाउनेछन् । साइरनसँगै ‘हात्ती आयो’ भन्ने एप्समार्फत हात्ती आएको सूचना सर्वसाधारणको कानकानमा पुग्नेछ । मेचीनगर–४ को पहलमा साइरन जडान गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुन्जका पूर्ववार्डेन संरक्षणकर्मी रमेश थापाले वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका साइरन रेखदेख र सञ्चालन जिम्मा सशस्त्र प्रहरी बलको बीओपी ९बोर्डर आउट पोस्ट० लाई दिइएको छ । ‘हात्ती आएको सूचना प्रवाहका लाथि साइरन उपलब्ध गराइएको हो’, उज्यालो नेपाल नामक गैरसरकारी संस्थाका पूर्वअध्यक्षसमेत रहेका थापाले भने, ‘मोबाइल हुनेले मोबाइलमार्फत र नहुनेले साइरनमार्फत सूचना पाउनेछन् ।’

उक्त संस्थाले गत महिना वडा कार्यालयका सदस्य पवन बराइलीसहित आठ स्थानीयलाई हात्ती संरक्षणबारे प्रशिक्षणका लागि बर्दिया पठाएको थियो । यही टोलीले ‘हात्ती आयो’ भन्ने एप्समार्फत टोलटोलमा सूचना पठाउनेछन् । ‘एप्स डाउनलोडपछि प्रयोग गर्न सकिन्छ’, संरक्षणकर्मी थापाले भने, ‘हात्ती आउनेबित्तिकै एप्समार्फत सूचना गरेपछि ‘हात्ती आयो’ भन्दै मोबाइलमा साइरन बज्छ ।’ उनका अनुसार साइरनको आवाजबाट हात्तीका कारण धनजनको क्षति पनि कम हुन सक्छ भने हात्तीमाथि स्थानीयले गर्दै आएको व्यवहारमा पनि क्रमशः परिवर्तन हुँदै जानेछ । ‘हात्ती आएको सूचनापछि मानव जीवन बचाउन र क्षति कम गर्न सकिन्छ’, थापाले भने, ‘यसले दुवै प्राणीको सहअस्तित्व कायम गर्न पनि सघाउ पुग्नेछ ।’

वडाध्यक्ष अर्जुनकुमार कार्कीले ब्याट्री, प्यानल बक्स, तार र साइरनसहित करिब ६० हजार मूल्य बराबरको साइरनले करिब एक किलोमिटरभन्दा टाढासम्म सूचना प्रवाह गर्न सक्छ । चाँडै अरू दुई स्थानमा साइरन जडान गरिने उनले बताए । उज्यालो नेपालमार्फत केही दिनभित्र प्रभावित क्षेत्रका घरहरूको बिमासमेत गरिने अध्यक्ष कार्कीले बताए । ‘बिमाबाट पीडितले तत्काल राहत पाउन सक्ने देखियो’, उनले भने, ‘पीडितले तत्काल राहत पाउनुपर्छ भन्ने माग पनि हो ।’ हात्तीका कारण भएको करोडौंको भौतिक क्षतिको राहत अहिले पनि धेरै स्थानीयले पाउन सकेका छैनन् । सरकारले वन्यजन्तुबाट भएको भौतिक क्षतिबापत १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर उक्त रकम प्राप्तिका लागि पीडितले धेरै सास्ती पाउने गरेका छन् ।

स्थानीय शंकर लुइँटेलले सुनाए, ‘१० हजार राहत रकम थाप्न धाउँदाधाउँदै १५ हजार खर्च भएका उदाहरण पनि धेरै छ ।’ कोसी आरक्षणका प्रमुख रमेशकुमार यादवले वन्यजन्तुबाट हुने क्षतिको रकम बढाएर कम्तीमा ५० हजार रुपैयाँ पुर्‍याउन बहस भइरहेको बताए । उनले हात्ती र मानव दुवै प्राणीको सहअस्तित्व कायम गर्न स्थानीयको भूमिका अहम् हुने बताए ।

हात्ती बदला लिने र ईखालु स्वाभावको प्राणी भएकाले यसलाई बढी आक्रामक बन्न दिन नहुने प्रकृति संरक्षण कोषका वीरेन्द्र गौतमले बताए । ‘हात्तीलाई जति बिच्क्यायो त्यति नै बढी आक्रामक बन्छ’, उनले भने, ‘मान्छेले बिस्तारै हात्तीप्रतिको दृष्टिकोण र स्वभाव परिवर्तन गर्दै जानुपर्छ, जसले दुवै प्राणीको क्षति कम हुन्छ ।’

साभार कान्तिपुर अनलाइन