समाचार

सङ्घीय संसदकाे पहिलो कार्यकाल सकियो, सांसदहरू पदमुक्त

काठमाडौँ । मुलुक सङ्घीय संरचनामा गएपछिकाे  संघीय संसदकाे तल्लाे सदनकाे पहिलो कार्यकाल सकिएकाे छ । संघीयताकाे अवधारणा अनुरूप भएकाे निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्यकाल शनिबार मध्यरातिदेखि समाप्त भएको हाे । यससँगै एकैसाथ निर्वाचन भएका सातवटै प्रदेशका प्रदेश सभाको कार्यकाल पनि शनिबार रातिदेखि नै सकिएको छ ।

निर्वाचन आयाेगले आजबाट चुनावी गतिविधि थालेकाे छ । मंसिर ४ मा हुने निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिन आज भएकाले यसभन्दा अघिल्लो दिनलाई आधार मानेर संघीय एवं प्रदेश संसदकाे कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएपछि २०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको जनाइएकाे छ ।

संसदकाे चालू अधिवेशन शनिबार राति १२ बजेबाट समाप्त हुने व्यहाेराकाे  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद सचिवालयलाइ पत्र पठाएकी थिइन् । साे पत्र पनि हिजाेकाे प्रतिनिधि सभामा सुनाइएको थियाे । संसदकाे कार्यकाल सकिएसँगै प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरू समेत स्वतः पदमुक्त भएका छन् । तर संघीय संसदकाे माथिल्लाे सदन राष्ट्रिय सभा भने स्थायी भएकाले कार्यकाल समाप्त हुँदैन ।

अघिल्लाे आम निर्वाचन २०७४ मङ्सिरमै भएकाे थियाे । तर संसदकाे कार्यकाल भने सोही वर्षको फागुन २१ गतेदेखि मात्र ढिला गरेर सुरु भएको थियो । यस हिसाबले संसदले पूरा कार्यकाल काम गर्न भने पाएन । बीचमा पूर्व प्रधानमन्त्री केपी शर्मा अाेलीले २ पटक प्रतिनिधिसभा विघटन समेत गरेका थिए ।

शनिबार संसद अधिवेशन अन्त्यका अवसरमा प्रधानमन्त्री, विपक्षी दलका नेता तथा अन्य दलका शीर्ष नेताहरूले सम्बोधनसमेत गरेका थिए ।