झापा । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले अब हरेक महिलाहरुले परनिर्भर नभएर आत्मनिर्भर बन्नतर्फ जोड दिनुपर्ने बताएकी छिन् । महिलाले सीप सिकेर सिकेको सीपलाई व्यवहारमा उतार्न सके दुई चार पैसाकालागि कसैले मुख ताक्नु नपर्ने बताउँदै नगरप्रमुख उप्रेतीले भनिन् महिला सबल र सक्षम भए आफ्नो घर मात्रै नभएर समाज तथा सिंगो देशको नै समृद्धिमा उनीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइन् ।
शुक्रबार मेचीनगर— १० स्थित नयाँ बिहानी आमा समूहको ५औँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले अब स्थानीय सरकारले नगरभरिका महिलाहरुलाई कुनै न कुनै सीप सिकाएर दक्ष बनाउने र त्यसका लागि मेचीनगर ८ मा महिलाहरुलाई लक्षित गरेर महिला सीप केन्द्र भवन धमाधम निर्माण भइरहेको र निर्माणको अन्तिम चरणमा रहेको समेत जानकारी गराइन् ।

प्रमुख अतिथि उपप्रमुख उप्रेती, मेचीनगर १० का वडा सदस्य विशाल कार्की, लंकाशनि सहकारी संस्थाका अध्यक्ष रुपा पौडेल, प्रगतिशील युवा क्लबका अध्यक्ष कविता कार्की, नयाँ बिहानी आमा समूहका सल्लाहकार उमाकान्त खनाल, राम बुढाथोकीलगायतले बोलेका थिए ।
सामुदायिक अध्ययन केन्द्र लालपानीको सभाकक्षमा आयोजित कार्यक्रममा समूहले विभिन्न समयमा आयोजना गरेको प्रतियोगितात्मक कार्यक्रममा प्रथम दोस्रो र तेस्रो हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाकी अध्यक्ष कमला बुढाथोकीले कार्यक्रमको अध्यक्षता गदैं वार्षिक प्रतिवेदन र ऋण संयोजक सुनिता सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाकी उपाध्यक्ष लक्ष्मी बजगाईँले स्वागत गरेकी कार्यक्रम सञ्चालन सचिव रोश्नी खनालले गरेकी थिइन् ।

