धुलाबारी । मेचीनगरको इष्ट होराइजन माविले नेपाल शिक्षा पुरस्कार–२०२२ पाएको छ ।
युएईको दुबईमा भएको एक विशेष कार्यक्रममा मासिक पत्रिका कलेज रिडर्सले होराइजनलाई ‘इमर्जिङ स्कुल अफ द एअर’ अवार्ड प्रदान गरेको प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए । कलेज रिडर्सले नेपालको गुणस्तरीय शिक्षालय, विद्यालय, महाविद्यालय तथा शिक्षा उद्यमी एवम् शिक्षाविदहरुको अतुलनीय योगदानको पहिचान र कदर गर्दै सम्मान प्रदान गर्दै आएको छ । शैक्षिक गुणस्तरका साथै खेलकुद, संगीत, नृत्य, हाजिरीजवाफ लगायत अतिरिक्त क्रियाकलापमा अब्बल रहेको इष्ट होराइजनलाई त्यसैका आधारमा अवार्ड प्रदान गरिएको हो ।

कलेज रिडर्स अंग्रेजी माध्यमबाट प्रकाशित भई विगत १५ वर्षदेखि निरन्तर नेपाली शैक्षिक÷प्राज्ञिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ ।
कार्यक्रममा ३४ शीर्षकमा नेपालका उत्कृष्ट शिक्षालाय, विद्यालय, महाविद्यालयहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, १६ शीर्षकमा शिक्षाविद, शिक्षासेवी तथा शिक्षा उद्यमीलाई सम्मान पुरस्कार प्रदान गरिएको थियो । इष्ट होराइजनले यसअघि ब्रिटिस काउन्सिलद्वारा सञ्चालित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार आइएसए कार्यक्रम अन्र्तगत अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार जितेको थियो ।

व्यावहारिक शिक्षा र प्रयोगात्मक शिक्षण प्रणाली आजको आवश्यकता’ भन्ने नारालाई मनन् गर्दै विद्यालयले विभिन्न कार्यक्रमहरु विद्यार्थी माझ ल्याउने क्रममा ब्रिटिस काउन्सिलद्वारा सञ्चालित अवार्ड कार्यक्रम सन् २०१९–२०२० मा सञ्चालन भएको थियो । जसमा इष्ट होराइजनले प्रयोगात्मक परियोजना अन्तर्गत सातवटा शीर्षकमा विभिन्न कक्षाका विद्यार्थीलाई परियोजना दिएको र सो परियोजना विद्यार्थीले सफलताका साथ सम्पन्न गरेका थिए ।
अन्तर्राष्ट्रिय स्तरको नागरिक उत्पादन गर्ने र ग्लोबल सिटिजनका रुपमा आफ्ना विद्यार्थीको विकास गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम विद्यालयले आफ्ना विद्यार्थी माझ ल्याएको इष्ट होराइजनका संस्थापक प्रिन्सिपल राईले बताए ।

