संघ \संस्था

शुद्ध खानेपानी पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो, त्यसलाई पुरा गर्न नगरपालिका प्रतिवद्व छ : नगरप्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सुरक्षित शुद्ध खानेपानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो, त्यसलाई पुरा गर्न नगरपालिका खानेपानी उपभोक्ता समिति सँग हातेमालो गर्दै अघिबढीरहेको बताए ।

शुक्रबार मेचीनगर ६ स्थित काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख बुढाथोकीले मेचीनगरमा रहेका तीन ठूला खानेपानी उपभोक्ता समितिले तीव्र गतिमा काम गरिरहेका छन् तर पनि अझै त्यो पर्याप्त हुन नसकेको बताए । उनले भने,‘ हामी जनतालाई शुद्व खानेपानी ख्वाउने अभियानमा खानेपानी संस्थासँग सहकार्य गरेर अघि बढ्ने छौं र पानीको संकट समाधान गर्छौ । उनले मेचीनगरको तेलपानी बाहुनडाँगी, ज्यामिरगढी क्षेत्रमा अझैपनि पानीको ठूलो समस्या रहेको बताए ।

ग्रामिण क्षेत्रका जनताले शुद्विकरण नगरी खोलाबाट ल्याएको पानी पिउनु पर्नै बाध्यता अझै विद्यमान छ । त्यसको समाधानका लागि नगरपालिका लागि पर्ने बताए । साथै उनले जनतालाई केही वर्ष भित्र शुद्व खानेपानी खुवाउने प्रतिवद्वता जाहेर गरे ।

सो अवसरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिनियर इञ्जिनियर सुजित महतोले मेचीनगरका जनतालाई शुद्व खानेपानी पुर्याउन अभियानमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहेने प्रतिवद्वता व्यक्त गरे ।

काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष पराजुलीले खानेपानी क्षेत्रमा गरिएका महत्वपूर्ण कामको प्रगति विवरण सहितको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे ।

२०५० सालमा काँकरभिट्टा बजार क्षेत्रमा ७०० घर धुरीलाई पानी वितरण गर्न २ लाख २५ हजार घन लिटरको टेंकी सहित सुरु भएको खानेपानी आयोजनालाई विस्तार गर्दै ७ हजार घर धुरीमा पुर्याएको र आगामी दिनमा त्यसलाई थप विस्तार गरिने अध्यक्ष पराजुलीले बताए । उनले सहलगानी खानेपानी तथा सरसफाइ आयोजना मार्फत भए गरिएका प्रगति प्रतिवेदनमा उल्लेख गरेका छन् । हाल मेचीनगरको २,३,४,५,६,७,र ८ नम्बर वडामा जनतालाई शुद्व खानेपानी पुर्याउन सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमको अवसरमा खानेपानीले अवकास प्राप्त कर्मचारी नरबहादुर खड्का, वर्ष उत्कृष्ट ग्राहक टिकाराम कट्टेल, टिका थापा र सानुमाया चम्लागाईलाई सम्मान गरेको छ । खानेपानीले नियमित शुल्क बुझाउने ३७ सय ५३ ग्राहक मध्येबाट गोलाप्रथागरी तीन जना ग्राहकलाई सम्मान गरेको हो । वर्ष उत्कृठ कर्मचारी सम्मान यामप्रसाद पोख्रेलले प्राप्त गरेका छन् । समितिले उनलाई नगद ७ हजार र सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

कार्यक्रममा मेचीनगर –३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, मेचीनगर –८ का वडाध्यक्ष गिरीराज धमला, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सल्लाकार संयोजक हर्कबहादुर लिम्बू, नेकपा एमाले मेचीनगर अध्यक्ष खेमराज पोख्रेल (राजु), नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति भीम कुवँर, संघीय समाजवादीका नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतको आतिथ्यता रहेको थियो ।

उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलिप सुब्बाले गरेका थिए ।